–भोजराज श्रेष्ठ
(राष्ट्रीय लोकतान्त्रीक अपाङ्ग संघ,
निबर्तमान अध्यक्ष तथा महाधिबेशन प्रतिनिधिं)

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नंबर १ मा २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार वडाध्यक्षले प्रप्त गरेको मतको आधारमा नेपाली कांग्रेस पहिलो शक्तिको रुपममा स्थापित हुन पुगेको छ।

नेपाली कांग्रेसले ३४ हजार ७६१ मत पाउन सफल भएको छ भने दोश्रो दलको रुपमा उभ्याउंदै ६ हजार ९५८ मतान्तरले नेपाली कांग्रेस भन्दा कम मत नेकपा एमालेले २७ हजार ८०३ मत र तेश्रो दलमा माओवादी केन्द्रले १८ हजार ८५२ मत ल्याएको छ।राप्रपा र नेकपा एसले २००० र १६५० मत ल्याएको अवस्था छ।

क्षेत्रमा रहेको ७ स्थानीय तह मध्य कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुखर उपप्रमुख सहित बहुमत प्राप्त गर्न सफल भएको छ भने ,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा भने ६ वडा मध्य मध्ये ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको अवस्था छ। निर्बाचन क्षेत्र भित्र रहेको ५४ वडा मध्य ३२ वटा वडा मध्य कांग्रेसले बिजयी हांसिल गर्दा माओवादले ५ वटा वडा मात्र खुम्चिनु परेको छ।

माओवादी केन्द्रले क्षेत्रको ४ वटा पालिकामा शून्य प्रतिनिधित्व छ भने काँग्रेस संगको गठबन्धन गरेर जितेको जुगल गाउँपालिकामा प्रमुख बाहेक १ सदस्य पनि जित्न नसकेको र लिसंखुपाखर गाउँपालिकामा प्रमुख सहित एउटा वडाअध्यक्ष र २ सदस्य मात्र जितेको छ ।जिल्ला समन्वय समितिमा केन्द्रको निर्देशन बिपरित एमाले संग तालमेल गर्दा समेत एउटा सदस्य समेत निर्वाचित हुन सकेन ।

यो वास्तबिक यथार्थतालाई हृदयंगम गर्दा यो क्षेत्र नेपाली काङ्ग्रेसले छोडेर तेश्रो अवस्थाको माओवादी केन्द्रलाई सुम्पनु पर्ने औचित्य छैन।र जनभावनाको सरासर अपमान हुन जान्छ ।मत परिणाम,पार्टीको सांगठनिक अबस्था,स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्बाचित हुने आधार बलियो रहेको छ । २०७४ मा भएको निर्बाचनमा समेत नेकपा एमाले र नेकपा माओबादी केन्द्रको बलियो उपस्थिति हुंदा समेत नेपाली कांग्रेसले कडा प्रतिस्पर्धामा पराजित ब्यहोर्नु परेको थियो र अहिले संगठन सुदृढिकरण अभियानले नेपाली कांग्रेसलाई पहिलो स्थानमा उभ्याउन सफल भएको सन्दर्भमा २०७४ मा जितेको भन्ने तर्क दावी गर्नुको कुनै अर्थ राख्दैन।

सतमाना चामलमा एक माना मिसाएर एक पाथीको हिस्सेदार बन्ने माओबादी केन्द्रको अभिष्ट पूरा गर्न नेपाली कांग्रेसको इमान्दार नेता कार्यकर्ताहरुले कदापी पूरा हुन दिने छैन। रगत पसिना बगाउंदै नेपाली कांग्रेसले रातोदिन खटेर चाहे भूकम्पले थिलथिलो पारेको होस् चाहे कोभिड –१९ ले आक्रान्त पारेको नै किन नहोस, चाहे बाढी पहिरोको बेला होस चाहे अप्ठेरोमा परेका बिरामिहरुलाइ उपचारमा सहयोग पुर्‍याएर जनताको घर दैलो पुगेर गरेको संगठन कमजोर पार्न कसैलाइ छुट छैन।