काठमाडौं। नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन थालेको छ । विधानले क्षेत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ । यसरी क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएका प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन् ।

जसअनुरुप, केन्द्रीय कार्यसमितिमा हुने नेताहरूले महाधिवेशन प्रतिनिधि भएर आउनुपर्ने बाध्यता नभएपनि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने डडेलधुरा जिल्ला अधिवेशनमा चुनाव लडेरै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा रिले अनसनमा बसेका छन् । तर, देउवाले डडेलधुरामा जिल्ला सभापति मल्लको अनुपस्थितिमै जिल्ला अधिवेशन गराएका हुन् ।

Araju Rana Deuba

जारी अधिवेशनमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट उनी महाधिवेशन प्रतिनिधिमा उठेका थिए । यसअघि स्याङ्जाबाट उठ्दै आएका पौडेल १४औं महाधिवेशनका लागि भनेर काठमाडौंमा सदस्यता सारेका थिए ।

सभापति शेरबहादुर देउवा पक्षीय टिमबाट उम्मेदवारी दिएका उनले जम्मा ८३ मत मात्रै पाए । क्षेत्रीय सभापतिमा भने मुकुन्द रिजाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीलाई फराकिलो मतान्तरसहित पराजित गरेका हुन् । रिजालले २०४ मत पाएका थिए भने तिवारीले ५० मत मात्रै पाएका थिए ।

यसैबीच, सभापति एवम् प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनले परियारलाई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

नेपाली कांग्रेसले १४ वटा हिमाली जिल्लामा यसअघि नै क्षेत्र र जिल्लाको अधिवेशन गरिसकेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाका १५ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ भने २५ वटा क्षेत्रमा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट त्यहाँको जनसंख्याको आधारमा २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

यसरी देशभरका १६५ निर्वाचन क्षेत्रबाट करिब ४५ सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । कांग्रेसले पहिलो चरणमा १४ हिमाली जिल्लाहरू मनाङ, रुकुमपुर्व, मुस्ताङ, हुम्ला, संखुवासभा, ताप्लेजुङ, गोरखा, दोलखा, रामेछाप, कालिकोट, म्याग्दी, बझाङ, बाजुरा र मुगुका १५ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिसकेको छ । यी जिल्लामा जिल्ला अधिवेशन नै भइसकेको छ ।

क्रियाशील सदस्यताको विवादका कारण वडा अधिवेशनमै ढिलाइ भएपछि रौतहट, सर्लाही, बारा, पर्सा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । १० मंसिरमा जिल्ला अधिवेशन सक्नुपर्ने कार्यतालिका छ । १६ र १७ मंसिरमा सात प्रदेशको प्रदेश महाधिवेशन हुनेछ । त्यसपछि २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने नेपाली कांग्रेसको कार्यतालिका रहेको छ ।
प्रकाशन मिति–२०७८ साल मंसीर ७ गते मंगलवार ।