लण्डन । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितामा नेपालका सन्तोष साह उपविजेता बनेका छन्। फाइनलमा विजेता बन्ने व्यापक संभावना देखिएतापनि र अन्त्यमा पुगेर साह उपविजेता बनेको हो।

बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले विजेताको उपाधि हात पारेका छन्। बीबीसीसँग कुरा गर्दै उपविजेता सन्तोष साहले आफू उपविजेतामा सीमित भए पनि दुःखी भने नभएको प्रतिक्रिया दिएका छन्।

नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताउदै साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए। केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका नेपालको सिराहा जिल्ला कर्जन्हाका ३५ वर्षीय साहले भने, “ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जित्नु पनि जित बराबर हो।।”


प्रकाशन मिति–२०७७ साल पुस ३ गते शुक्रवार ।