काठमाडौ। नेपालमा नपत्याउने तरीकाले दिनानुदिन सडकमा ट्राफिक जाम बृद्धि भैरहेको छ। यदि त्यो ट्राफिक जाममा कोही इमरजेन्सीमा परेका विरामी तथा गर्भवती महिला कसैलाई तुरुन्तै अस्पताल ल्याउनु पर्ने अवस्थामा अत्यन्त कठिन हुने गर्दछ। कतिको त अस्पताल नपुग्दै विरामी तथा गर्भवतीको अकालमा ज्यान जानेसम्म हुन्छ।

अर्कोतर्फ धादिङ लगायतका कतिपय पहाडी मार्गमा ठूल–ठूला सडक दूर्घटनामा पर्नेहरुको उचित उद्धार समयमा नै गर्न सकेमा धेरैको ज्यान जोगिने थियो। त्यसको लागि यतिखेर नेपालमा हेलिकप्टर एअर एम्बुलेन्सको व्यवस्था अत्यन्त आवश्यक देखिसकेको छ। त्यसको लागि ठूला–ठूला गफ दिने कति धेरै नेताहरुको समेत यस कुरामा ध्यान पुग्न सकेको अवस्था छैन्। ट्राफिक जाम तथा विकट पहाडी मार्गका कतिपय कारणले गर्दा नेपाली जनता यसप्रकारको समस्याले ज्यान गुमाइरहेको अवस्थामा यसको आवश्यकता तथा अवधारणा  पांच बर्षअगाडि नै नेपालका युवा उद्यमी तथा व्यवसायी विष्णु पुरुषले ल्याएका थिए।

यो अवधारणाको विकास हुनुमा एउटा ठूलो दूर्घटनाले गरेको हो। त्यो बेला काठमाडौको घण्टौ–घण्टाको चर्को ट्राफिक जाम छिचोलेर धादिङ हुंदै चितवन जाने क्रममा धादिङको जोगिमारा भन्ने स्थानमा डरलाग्दो सडक दूर्घटना उद्यमी विष्णु पुरुषले प्रत्यक्ष रुपमा देखेका थिए। स्यान्ट्रो कारमा गुडिरहेको एक परिवारको उक्त कार जोगिमारा पुग्दा विपरित दिशावाट आएको ट्रकसंग ठोक्किएर दुई गुल्ट्याङ खाएर पल्टेको थियो।

त्यो कारमा एकजना गर्भवती महिला र दुईजना बालबालिका तथा चालकको घटनास्थलमा नै मृत्यु भएको थियो। घटनास्थलमा उनीहरुको उद्धार गर्न पुगेका विष्णु पुरुषलाई कार चालकले आफूलाई डाक्टर भएको र आफूहरुलाई जसरी भएपनि बचाउन विन्तीभाउ गर्दै हेलिकप्टर बोलाएर भएपनि अस्पताल पुर्याइदिन अनुनय विनय गर्दा पनि मोवाइलको टावर समेत राम्रोसंग नटिप्ने स्थानमा हेलिकप्टर बोलाउन नसकेको तथा फर्काएर काठमाडौको सुविधासंपन्न अस्पताल लान पनि धादिङको चर्को ट्राफिक जामले नसकेको यथार्थताले विष्णु पुरुष लगायतका उद्धारकर्मीलाई समस्या परेको थियो।

मर्न केही मिनेट अगाडिसम्म पनि “म डाक्टर हुं–म माथि ठूलौ जिम्मेवारी छ। मलाई बचाउनुस्। हेलिकप्टर बोलाउनुस्।” भन्ने त्यो सवारी चालकलाई बचाउन नसकेको त्यो अवस्थावाट लेसनका रुपमा आफूले हेलिकप्टर एअर एम्बुलेन्सको आवश्यकता माथि परिकल्पना गरेको उद्यमी विष्णु पुरुषले खुलासा गरेका छन्।

 

त्यसका लागि कुनैपनि राज्य–सरकार तथा नेतासंग त्यसको अनुनय विनय गरेर समय खेर फाल्नुभन्दा हामी नेपाली जनता आफै तदारुकतासाथ लागेर ३ करोड नेपालीले दिनको एक रुपैया मात्र चन्दा दान गरेमा पनि पुग्छ भनेर चन्दा दान बाकसको व्यवस्था आफ्नै कार्यालयवाट शुरु गरेको बताएका छन्। त्यसलाई अभियानकै रुपमा व्यवहारमा ल्याउन अनेक कोशिश गर्दा पनि एक्लै लाग्न आफूलाई कठिन भएको र हेलिकप्टर एअर एम्बुलेन्सको त्यो सपना पूरा गर्न अझै नसकेको यथार्थता विष्णु पुरुषले भिजन संसारलाई भनेका छन्।

देशको भौगोलिक अवस्था र प्रतिकुलतामा आम नेपालीले अकालमा ज्यान गुमाइरहनुपर्ने बर्तमान अवस्थामा नेपालजस्तो देशमा हेलिकप्टर एअर एम्बुलेन्स अत्यन्त आवश्यक रहेको छ। हेलिकप्टर एअर एम्बुलेन्सको व्यवस्था भएमा जुनसुकै दूर्घटना तथा प्रतिकुल अवस्थामा विरामीलाई तुरुन्तै हेलिकप्टर एअर एम्बुलेन्स मार्फत सही–सलामत अस्पताल पुर्याएर ज्यान जोगाउन सकिने तर्क विष्णु पुरुषको रहेको छ।

यसको लागि अव बन्ने प्रदेशसभा र प्रदेशका मुख्य मन्त्री तथा केन्द्र सरकारले यसतर्फ ध्यान दिएमा यसको नेतृत्व लिन आफू तयार भएको विष्णु पुरुषको जिकिर रहेको छ। त्यसमा कुनैपनि सरकारको तथा नेताको मुख ताक्ने काम आफूवाट नहुने र नेपाली जनतासंग दिनको एक रुपैयाको दरले चन्दा बाकस मार्फत चन्दा लिएर एअर एम्बुलेन्सको व्यवस्था गर्ने आफूले सोच गरेको विष्णु पुरुष भन्छन्।

सही सोच र सही खोज अनि भिजन तथा मिसनका साथमा काम गर्न पाएमा बर्षदिनभित्र हेलिकप्टर एअर एम्बुलेन्सको व्यवस्था गरेरै देखाउने उनको योजना रहेको छ। त्यसमा केवल आफूलाई नेपाली जनताको समर्थन र साथ भए पुग्ने उनले बताएका छन्।

तपाईहरु पनि विष्णु पुरुषको यो पवित्र अभियानमा साथ दिन चाहनु हुन्छ भने, उहाँलाई उहाँको मोवाइल नंबरमा संपर्क गरेर सहकार्य गर्न सक्नु हुन्छ। संपर्क मोवाइल नंबर-9851021807

प्रकाशन मिति–२०७४ साल मंसीर २५ गते सोमवार ।