काठमाडौ। नेपाली पत्रकारिताको इतिहासमा व्यावसायिक पत्रकारिताको आधार समावेशी सञ्चार नारासहित पहिलो पल्ट मिडिया फेस्टिभल संपन्न भएको छ। शनिवार ललितपुरको पाटन दरबारस्क्वायर स्थित भण्डारखाल बगैचामा भव्य रुपमा मिडिया फेस्टिभल संपन्न भएको हो।

नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ऐतिहासिक मिडिया फेस्टिभलको अभूतपूर्वरुपमा भएको ठहर सवै पत्रकार तथा गैरपत्रकारहरुले गरेका छन्। उदघाटन नेपालका शताव्दी पुरुष संस्कृतिविद ९७ बर्षिय डा.सत्यमोहन जोशीवाट भएको थियो।

आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूको कठिन मेहनत तथा प्रयास अनुरुप भएको पत्रकारिताको कुम्भ मेला नै मानिएको मिडिया फेस्टिभलमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ तथा मातृभाषाका प्रथम नेपाली पत्रकार धर्मदित्य धर्माचार्यको संक्षिप्त जीवनी सहितको क्यालेण्डर तथा नेवाःपत्रकार डायरीको पनि विमोचन गरिएको थियो।

विसं.२००९ साल देखि विसं.२०२१ सालसम्म प्रकाशित शताव्दी पुरुष डा.सत्यमोहन जोशीव्दारा सम्पादित कलाकार, विकास, राजमार्ग नामक पत्रिकाको ऐतिहासिक दस्तावेज पनि प्रकाशित गरिएको स्मारिका पनि विमोचन भएको थियो। शताव्दी पुरुषलाई सगुन सहित बेताली लगाइदिएर ऐतिहासिक पत्रकारको सम्मान पनि प्रदान गरिएको थियो।

नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जन, कार्यक्रम संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, उपसंयोजक राजेश बज्राचार्य, दबूका महासचिव सुनिल महर्जन, दबूका काठमाडौ अध्यक्ष विराजकाजी राजोपाध्याय लगायतले शताव्दी पुरुष डा.जोशीलाई बृहत सम्मान दिने कार्य भएको छ।

कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सूचना विभागका महानिर्देशक बीर बहादुर राई, आदिवासी जनजाति पत्रकार संघका डण्ड गुरुङलगायतले मिडिया फेस्टिभलको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए।

नेपाली मिडियामा समावेशी पत्रकारिताका बारेमा आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय महासचिव सुनिल महर्जनले बहस नै चलाएका थिए। बहसमा नेपालका बरिष्ठ पत्रकार सीके लाल, युवराज घिमिरे र सुरेश किरणले बहस गरेका थिए। फेस्टिभलमा विभिन्न संचार गृहका बृहत स्टलले फेस्टिभललाई रौनकता प्रदान गर्ने कार्य भएको थियो।

फेस्टिभलमा विभिन्न कलाकारहरुका विविध सांस्कृतिक कार्यक्रमले फेस्टिभललाई संगीतमय नै बनाएको थियो।


प्रकाशन मिति–२०७४ साल पुष २२ गते शनिवार ।