काठमाडौं। लामो समयको अनुभव, उपलब्धी र निरन्तरताको कदर गर्दै विभिन्न विधाका व्यक्तिहरुलाई इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । जस अन्तर्गत विगत दुई दशक देखि फेसन र ब्युटी पेजेन्टको कोरियोग्राफीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहँदै आएका नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यलाई इन्टरनेसनल प्रोफेसनल फेसन कोरियोग्राफर अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर गएको असोज ३ गते दुबई स्थित एभरेष्ट क्लबमा संचालन गरिएको इन्टरनेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०१९ अन्तर्गत कोरियोग्राफर रोजिनलाई सो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुविकास मन्त्री चक्रपाणी खनालले उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

यस अघि वेष्ट अन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अफ द इयर, मिष्टर भर्सटाइल अफ द इयर, इन्टरनेसनल एक्सीलेन्स अवार्ड तथा लिजेन्द फेसन कोरियोग्राफरको अवार्ड प्राप्त गरिसकेका रोजिन कोरियोग्राफी बाहेक कार्यक्रम उद्घोषण, समाचार वाचन, फेसन पत्रकारिता, कलेज अध्यापन आदि विधामा पनि सक्रिय रहँदै आएका छन् । कार्यक्रममा रोजिन संगै दुई दर्जन बढी ब्यक्तिहरुलाई सो अवार्ड बाट पुरस्कृत गरिएको थियो ।

जस अन्तर्गत पत्रकारिता विधाबाट वरिष्ठ पत्रकारहरु ओम शर्मा, खिल बहादुर भण्डारी, सुरेश चन्द« अधिकारी, पत्रकारिता विधामै दुबईमा रहेका लक्ष्मण खनाल र विनोद बाबु श्रेष्ठ, फोटोग्राफी विधा अन्तर्गत ग्ल्यामर फोटोग्राफर राज भाई सुवाल, फोटोपत्रकार लेख बहादुर श्रेष्ठ, स्टुडियो फोटोग्राफर भवदेव थापा मगर, फ्रिलान्स फोटोग्राफर दिपेन्द महर्जन पुरस्कृत गरिएका थिए । कार्यक्रममा दुबईमा रहेका उद्यमी एवं व्यवसायी डा.दिनेश आचार्यलाईलाई मल्टिडिसिप्लीनरी अन्टरप्रिनरशीपको अवार्ड प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ युएईको सहकार्यमा सिजन मिडिया प्रा.लि.ले आयोजना गरेको सो अवार्ड कार्यक्रममा लोकगायक दिप बहादुर थापा मगर, महिला उद्यमीहरु विजया कोइराला, रेजिना तुलाधर तथा गर्ली अग्रवाल, समाजसेवी सन्तोषी शाही, महिला अधिकारकर्मी शोभा कुमारी गिरी, बरिष्ठ साहित्यकार तथा लेखक पुष्पलता आचार्य लगायतकाहरु सम्मानित भएका थिए ।
प्रकाशन मिति–२०७६ साल असोज ७ गते मंगलवार ।