nepal-academyकाठमाडौ। नेपाल प्रज्ञा–प्रतिष्ठानले हाल नेपालमा भैरहेको भाषा विवादबारे बिहीबार पत्रकार सम्मेलनको आयोजान गरी यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त सम्मेलनमा कुलपति गंगाप्रसाद उप्रेतीद्वारा हस्ताक्षरित तथा वितरित प्रेस विज्ञप्तिमा ‘केही समययता नेपाली वर्ण विन्यासबारे चलाइएका बहस, सडक र सदनमा उठाइएका सवाल जबाफ र सोही विषयमा भाषा विज्ञहरूबिच एक अर्कामा लगाइएका अनावश्यक आरोप प्रत्यारोपले सर्वसाधारणमा पर्न गएको भ्रम एवम् चिन्ताका जगमा सिर्जना भएका जिज्ञासाप्रति नेपाल प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको’ भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषामा प्रचलित वर्ण विन्यास एवम् भाषाको लेख्य तथा कथ्य रूपको मानकीकरण गर्ने आधिकारिक निकाय नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सरकार अन्तर्गतका पाठ्यक्रम र पाठ्य पुस्तक निर्माण गर्ने निकाय र त्रिभुवन विश्व विद्यालयको पाठ्यक्रम विकास केन्द्र अन्तर्गतको अनिवार्य नेपाली विषयको केन्द्रीय विषय समिति एवम् विभिन्न अध्ययन संस्थान अन्तर्गत रहेका नेपाली केन्द्रीय विभागहरू रहेका छन् । त्यसमा नेपाल प्रज्ञा–प्रतिष्ठान विज्ञहरूबिचको छलफलका निष्कर्षका आधारमा नेपाली भाषाको वर्ण विन्यास, यसका कथ्य र लेख्य रूपको मानकीकरण निर्धारण गर्न उत्तरदायी छ भने नेपाल सरकार, शिक्षा मन्त्रालय अन्र्गतका पाठ्यक्रम विकास केन्द्र जस्ता निकायहरू विद्यालय तहमा शिक्षण प्रयोजनका लागि प्रयोग हुने नेपाली भाषाको मानक पाठ्यक्रम तयार पारी सोही बमोजिम तयार पारिएका पुस्तक पठनपाठन गराउन उत्तरदायी छ ।’

त्यसैगरी प्रतिष्ठानले ‘यस अर्थमा यी तिनवटै निकायका निर्णयमा एकरूपता अनिवार्य छ। अहिले विवादित नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रका नेपाली वर्ण विन्यासको प्रयोग सम्बन्धी निर्णयहरू सरोकारवाला माथिका संस्थाहरूको सुझाबमा तयार पारिएको देखिए पनि तिनलाई पाठ्यक्रमका रूपमा कक्षामा प्रयोग गर्दा अनेकौँ अप्ठेरो सिर्जना भएको गुनासो सतहमा आएको छ । ती गुनासाहरूलाई आपसी सहमतिमा मर्यादित किसिमले सम्बोधन गर्ने जिम्मा नेपाल सरकारको’ भएकोले ‘सरकार त्यस्ता सार्वजनिक गुनासा सम्बोधन गर्न प्रयत्नशील रहला भन्ने हाम्रो अपेक्षा’ गरेको उल्लेख गरेको छ ।

nepal-academy-1

प्रतिष्ठानले, ‘उच्च शिक्षामा नेपाली भाषा पठनपाठन गर्ने प्रयोजनका लागि त्रिभुवन विश्व विद्यालयले तयार पारेको अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) र त्यस अन्तर्गत बनेका पाठ्य पुस्तकमा प्रयोग भएका नेपाली वर्ण विन्यास सम्बन्धी आधारभूत मान्यताहरू पनि अहिलेको भाषिक बहस र छलफलकै परिधिमा रहेको’ बताउँदै ‘त्रि.वि.का शिक्षण निर्देशिकामा व्यवस्थित नियमहरूले उठाएका गुनासाहरूलाई मर्यादित किसिमले सम्बोधन गर्ने जिम्मा त्रि.वि.कै सम्बन्धित निकायको हो’ भन्दै ‘यसमा त्रि.वि.का सम्बन्धित निकायबाट प्रयत्न हुने नै छ भन्ने नेपाल प्रज्ञा–प्रतिष्ठानको अपेक्षा रहेको’ उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपाल प्रज्ञा–प्रतिष्ठान राज्यद्वारा निर्मित कानुनमा दिइएका विभिन्न उत्तरदायित्वका अतिरिक्त नेपाली भाषाको विकास र प्रवर्धनमा मूल रूपमा लागि पर्ने संस्था हो । नेपाली भाषाको प्रयोगको विस्तारको क्षेत्र दिनानुदिन बढ्दै गएको र नेपाली भाषा आज नेपालको सम्पूर्ण विविधतालाई जोड्ने सबै जातजाति, भाषाभाषी नेपालीहरूको एक मात्र भरपर्दो सम्पर्क भाषा हुनुका साथै राज्यको कामकाजको भाषा पनि हो । नेपालका सबै भाषाभाषी एवम् जातजाति, समुदायको साझा भाषा भएकाले यस भाषालाई  आन्तरिक नियम एवं मौलिकतामा आँच आउन नदिई सर्वसाधारणका लागि सहज र सरल पार्दै लैजानु आवश्यक भएको छ ।’

प्रतिष्ठानले ‘यही आवश्यकतालाई महसुस गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न समयका नेतृत्वले सरोकारवाला विज्ञहरूसँग गहन छलफल गरी माथि उल्लिखित अन्य निकायहरूका निर्णय र निर्देशिकाहरूसँग समेत मेल खाने गरी नेपाली भाषा, व्याकरण र कोश निर्माण गर्ने र त्यही कोशले निर्धारण गरेको भाषा प्रचलनमा ल्याउने गरेको छ। यस्तो प्रयोग र प्रचलनमा नेतृत्वमा रहेका प्राज्ञहरूको कुनै आग्रह नरही भाषा सम्बन्धी विज्ञहरूको सामूहिक छलफलबाट निस्केका निर्णयहरूको निर्देशन रहन्छ ।

यसै मान्यताका आधारमा विभिन्न समयमा विज्ञ एवं प्रयोक्ताहरूबिच भएका छलफल र तिनले निकालेका निष्कर्षका आधारमा नेपालमा पहिलोपल्ट संस्थागत रूपमा मानक शब्दकोशको रूपमा नेपाली बृहत शब्दकोश तयार पारी वि.सं २०४० प्रकाशन गरिएको हो । सो कोशका अहिलेसम्म नवौँ संस्करणहरू प्रकाशित भएका छन् । वि.सं. २०४० मा प्रकाशित नेपाली बृहत् शब्दकोशलाई सामाजिक परिवर्तनको सन्दर्भमा अर्थ लेखन समेत अद्यावधिक गर्न २०५८, २०६७ र २०७२ सालमा केही परिमार्जन गरिएको’ उल्लेख गरेको छ ।

यसै गरी प्रतिष्ठानले ‘यस्तो परिमार्जन प्रज्ञा–प्रतिष्ठानको नेतृत्वको स्वेच्छाले नगरी विज्ञ एवम् सरोकारवालाहरूको गहन छलफल गराई निस्केका निष्कर्षका आधारमा गरिएका’ प्रस्ट पार्दै ‘यस्ता छलफल र गोष्ठीहरूमा २०५७ मा प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको नेपाली वर्ण विन्यास अधिगोष्ठी (२०५७) र नेपाली भाषा सङ्गोष्ठी (२०६७) प्रमुख रहेका छन् । उल्लिखित अधिगोष्ठी र सङ्गोष्ठीमा उपस्थित सहभागीहरूबिच बृहत् छलफल गराई निस्केका निष्कर्ष बमोजिम नै २०५८ र २०६७ मा नेपाली बृहत शब्दकोश का संस्करणमा परिमार्जन र परिवर्तन गरिएका’ बताएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानको नेतृत्व नेपाली बृहत शब्दकोश (२०४०), नेपाली वर्ण विन्यास अधिगोष्ठी (२०५७) र नेपाली भाषा सङ्गोष्ठी (२०६७) का निष्कर्ष अनुसरण गर्न प्रतिबद्ध छ र तिनै निष्कर्ष अनुरूप प्रज्ञा–प्रतिष्ठानका सबै प्रकाशनहरू प्रकाशित भइ रहेका छन् । प्रतिष्ठानले ‘यता आएर उठेका विवाद र छलफलका व्रmममा प्रज्ञा–प्रतिष्ठानका शब्दकोशका नयाँ संस्करण र अन्य प्रकाशनहरू माथि उल्लिखित आप्mनै निष्कर्षहरू विपरीत रहेका छन् भन्ने गुनासाहरूले प्राज्ञ परिषद्को वर्तमान नेतृत्वको ध्यान आकर्षित गराएको’ भन्दै ‘यस्ता गुनासाहरूमा उठेका प्रश्नहरूलाई सम्बोधन प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोबलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल रहेको भाषा विज्ञहरूको एक समिति गठन गरेको’ बताएको छ ।

नेपाली भाषाको वर्ण विन्यास सम्बन्धी अहिले चलेका बहसले नेपाली भाषाका सर्वसाधारण प्रयोक्ता अनावश्यक भ्रममा परेको देखिएको बताउँदै कुलपतिले भने, ‘कतिलाई त आकासै खस्न लागेजस्तो भ्रम समेत पर्न गएको छ । त्यसैले राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारहरूले सत्यतथ्यको निरूपणका साथ समाचार प्रवाह गरी नेपाली भाषालाई उन्नत बनाउन सहयोग गर्नु हुने छ भन्ने अपेक्षा नेपाल प्रज्ञा–प्रतिष्ठानको रहेको छ ।’

प्रकाशन मिति–२०७३ साल असोज १४ गते शुक्रबार ।