काठमाडौं। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेकोमा त्यसको सर्वत्र व्यापक विरोध भएको छ। यसक्रममा शुक्रवार विद्यार्थीहरुले काठमाडौं लैनचौर स्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

सत्ताधारी अनेरास्वियू निकट युवा विद्यार्थीले उक्त प्रदर्शन गरेका हुन्। भारतले नेपाली भूमि कालापानी, लिपुलेकसमेत आफ्नै भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतको हेपाह प्रवृत्तिको विरोध भइरहेको छ।

नेपालले पनि गएको फागुनमा संघीय संरचनासहित देशको नक्सा सार्वजनिक गरेको थियो। सो नक्सामा कालापानी र लिपुलेक समावेश थियो। लामो समयदेखि भारतले कालापानी र लिपुलेक आफ्नो दाबी गर्दैै नक्सामा नक्कली नदी बनाएरसमेत सीमा सार्ने प्रयत्न गरिरहेको थियो। दार्चुलाको कालापानी, नवलपरासीको सुस्तालगायतका क्षेत्रमा भारतले सीमामा बखेडा झिक्दै आएको छ।

नेपाल संघीय संरचनामा गएपछि भूमि व्यवस्था मन्त्रालयले विसं.२०७५ फागुन २३ गते संघीय संरचनासहितको नक्सा सार्वजनिक गर्‍यो र त्यही नक्सालाई प्रयोगमा ल्याउन भन्यो। नेपालको नक्सामा कालापानी, लिपुलेक समावेश छ । जुन प्रस्टरुपमा देख्न सकिन्छ। त्यतिमात्र होइन, सो नक्सामा ठूला हिमाल, नदी र लोकमार्गसहित प्रदेशको नामसमेत उल्लेख गरिएको छ।

त्यतिबेला भारतीय पक्षबाट पनि कुनै प्रतिक्रिया आएको थिएन। तर, त्यसको ८ महिनापछि भारतले एकाएक नयाँ नक्सा सार्वजनिक गर्दै कालापनी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पार्‍यो। भारतले नक्सा सार्वजनिक गरेपछि सरकारले विज्ञप्तिमार्फत् विरोध त गर्‍यो । तर, कूटनीतिक तहबाट समस्याको समाधान हुने संकेत देखाएको छैन्। नेपाल सरकारले तुरुन्तै कूटनीतिक तहवाट समस्याको समाधान गर्न अत्यन्त आवश्यक छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक २२ गते शुक्रवार ।