काठमाडौ। नेपाली साहित्यका धरोहर साहित्यकार इन्द्रबहादुर राईको मंगलबार साँझ दुःखद निधन भएको छ। नेपाली मूलका दार्जिलिङ निवासी साहित्यकार राईको ९० वर्षको उमेरमा दार्जिलिङमा निधन भएको हो।

नेपाली साहित्यमा अस्तित्ववादी धार स्थापित गर्न ठूलो योगदान दिएका राई लीलालेखनका प्रणेतासमेत हुन्। विसं.१९८४ साल माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका राई विसं.२०१० को दशकमा आधार, भारती, दियो, दियालो र रुपरेखाजस्ता चर्चित साहित्यिक पत्रिकामा आफ्ना साहित्य प्रकाशन गरेर स्थापित भएका थिए।

३० वटा कथा संगृहीत राईको पहिलो पुस्तक ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित थियो। सन् १९६४ मा ‘आज रमिता छ’ नामक उपन्यास प्रकाशन गरेर नेपाली साहित्यमा अस्तित्ववादको स्तम्भ खडा गरेका राई कलकत्ता विश्वविद्यालयबाट स्नातक र उत्तरबंगाल विश्वविद्यालयबाट स्नातकोत्तर हुन्।

प्रकाशन मिति–२०७४ साल फागुन २३ गते बुधवार ।