काठमाडौं। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार, चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइपुर्‍याएको हो। निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ। सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याएको हो।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो। बाँकी स्वास्थ्य सामग्री भने स्थलमार्गबाटै आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामग्री खरिद गरेको थियो। त्यसको तौल करिब २ सय ४३ टन रहेको छ।
प्रकाशन मिति–२०७७ साल जेठ १५ गते विहीवार ।