काठमाडौं। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्षेनी अयोजना गर्दैआएको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण संपन्न भएको छ। कोभिड–१९ को महामारीको कारण भौतिक रुपमा कुनैपनि कार्यक्रम नभएतापनि भर्चुअल रुपमा संपन्न भएको हो।

गत बैशाख २३ देनि २७ सम्म संपन्न भएर अवार्ड घोषणा गरिएको थियो। घोषित अवार्डलाई आइतवार आयोजित समारोहमा काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा वितरण गरिएको छ। सिमित चलचित्रकर्मी तथा संचारकर्मीहरुमाझ अवार्ड वितरण गरिएको हो।

यो बर्षको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बेस्ट इन्टरनेशनल फिचर फिल्म भारतीय निर्देशक ब्रत्या बासुले निर्देशन गरेको फिल्म डिक्सनरीलाई प्रदान गरिएको छ। त्यस्तै, बेस्ट नेशनल फिचर फिल्ममा नेपाली चलचित्र निर्देशक धोन्डुप छिरिङले निर्देशन गरेको फिल्म आमा खान्डोलाई दिइएको छ।

बेस्ट डाइरेक्टरको अवार्ड पनि धोन्डुप छिरिङले नै जितेका छन्। बेस्ट राइटर अवार्ड फिल्म सरिता टेल मि हुँ आइ एम कालागि सेरगिओ बास्सोलाई दिइएको छ। बेस्ट कोरियोग्राफी अवार्ड फिल्म लाटो कोसेरोको लागि सिरिस गुरुङलाई दिइएको छ। फिल्म लाटो कोसेरोकै अभिनेता नविन शिल्पकारलाई बेस्ट एक्टर अवार्ड तथा लाटो कोसेरोकै अभिनेत्री सरिता गिरीलाई बेस्ट एक्ट्रेस अवार्ड दिइएको छ।

विश्वका कथाहरुको उत्सव नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव भन्ने नाराका साथ नेपालमा नै हुंदैआएको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) आफैमा गौरबताको महोत्सव हो। जसले विश्वमाझ नेपाल जस्तो सानो मुलुकमा पनि अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने गर्दछ भन्ने सकारात्मक सन्देश गएको धारणा आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक, अग्रज फोटोग्राफर राजभाइ सुवाल, अग्रज संचारकर्मी एवम् चलचित्रकर्मी यादव भट्टराई देखि चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालसम्मको रहेको छ।

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करणको आवेदन पनि खुल्ला भैसकेको जानकारी आयोजक संस्थाका अध्यक्ष केपी पाठकले वताएका छन्। राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्रकर्मीहरुले २५ डिसेम्बर, २०२१ सम्ममा आफ्ना चलचित्र तथा बृतचित्र सहित आवेदन दिन सकिने भनिएको छ।

त्यस्तै, २५ जनवरी, २०२२ मा छनौट भएका चलचित्रहरुको घोषणा हुने भएको छ। निफको पांचौ संस्करण विसं.२०७८ साल चैत्र १० देखि १४ सम्म तदानुसार १०–१४ मार्च, २०२२ सम्म हुनेछ।
प्रकाशन मिति–२०७८ साल साउन १८ गते सोमवार ।