काठमाडौं। नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ। आज मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको सुरूआत गरिएको जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण गर्न लागिएको हो। उनका अनुसार निगमले अस्पताल, वृद्धाश्रम, बिरामी–असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण सुरू गरेको छ।

त्यस्तै किरिया (आशौच) बसेको घर, बालाश्रम–बालगृह, पुनर्उत्थान केन्द्र–सुधारगृह, कारागार, निःशुल्क भोजन गराउने निकाय–संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने भएको छ।

ग्यास नभएको गुनासो राख्न निगमले पाँच सम्पर्क नम्बर तोकेको छः– सम्पर्क नम्बरहरु– ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३।
प्रकाशन मिति–२०७६ साल चैत १८ गते मंगलवार ।