काठमाडौं। नेपाल आर्ट काउन्सिल बबरमहलमा दृश्य शिर्षकको कला प्रदर्शनी भएको छ। इन्टराक्ट क्लब अफ यलले रोटरी क्लबको प्रायोजन र दि प्रेसियस आर्टसंगको सहकार्यमा उक्त प्रदर्शनी भएको हो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचाय (केके कर्माचार्य)व्दारा उदघाटित दृश्य शिर्षकको कला प्रदर्शनी शुक्रवारवाट शुभारम्भ भएर शनिवार साँझ ५ बजे समापन हुने भएको छ। दुई दिने चित्रकला प्रदर्शनीको शुक्रवार शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कर्माचार्यले नयाँ कलाकारले नयाँ नै प्रस्तुति गरेको पाइएको आफूलाई अत्यन्त खुशी लागेको बताएका छन्। युवा कलाकारहरुमा देखिएको नयाँ जोश, जाँगर र नयाँ प्रयोगले नेपाली कलालाई नयाँ उचाइ प्रदान गर्ने उपकुलपति कर्माचार्यको जोड रहेको छ ।

क्लबका अध्यक्ष आशिका पुन मगरले आर्ट प्रदर्शनीमा विक्रीबाट प्राप्तभएको रकमको ३० प्रतिशत रकम सामाजिक सेवा, समुदाय र युथ लिडरशीप अवार्डको लागि खर्च गरिने बताइन् । कला प्रदर्शनीका इभेन्ट चेयर निश्चल ढकालका अनुसार उक्त प्रदर्शनी नयाँ देखि स्थापित कलाकारहरुको साझाथलो भएको र ७० जना कलाकारका कूल १६८ वटा आकर्षक चित्रकलाहरु प्रदर्शनीमा रहेको बताए । पहिलो दिनमै ८ वटा चित्रकला विक्री भैसकेको कुरा कला प्रदर्शनीकाको–इभेन्ट चेयर सुमना बज्राचार्यले जानकारी दिएकी छन्।

प्रदर्शनी काउन्सिलको पहिलो तल्लामा गरिएको छ । प्रवेशस्थलमै एउटा विलकुलै नौलो आर्टसंग जम्काभेट हुन्छ, मन्दिरमा चढाएको अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी छ । आफ्नो मौलिक चित्रकलाको अर्थ, थिम, कसरी सिर्जना भयो भनेर बुझाउनका लागि आफ्नो चित्रकलाको छेउमै सम्बन्धित कलाकार उभिएर तम्तयार अवस्थामा रहेका भेटिन्छन् ।

प्रदर्शनीमा कलाकारहरुले क्यानभास, एक्रेलिक, पेन, पेन्सिल, धागो प्रयोग गरेर सिर्जना गरेका चित्रकलाका साथै डिजिटल आर्ट र डट आर्ट प्रविधि प्रयोग गरेर चित्रकलाहरु सिर्जना गरेका छन् । चित्रकला प्रदर्शनीमा आएका दर्शकलाई आफ्नो नामदर्ता गरे लगत्तै ब्रोशियर र स्वादिष्ट पाचकले स्वागत गरेकोले दर्शकहरुले नौलो अनुभव गरेको देखिन्छ।