काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ। महासंघको मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएको हो।

महासंघले शेखर गोल्छाको नेतृत्वमा ६४ सदस्य नयाँ नेतृत्व पाएको हो। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधानअनुसार अब शेखर गोल्छाले महासंघको नेतृत्व सम्हाल्ने छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन्। ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई भारी मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार तीन वर्षको कार्यकाल सकेर गोल्छापछि महासंघको नेतृत्व चन्द्र ढकालले गर्ने छन्। आइतबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार ढकालले ६३३ मत ल्याए। उनका प्रतिद्वन्द्वी प्रधानले ४६७ मत ल्याए। विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी प्रधानले एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए।

ढकालले मत परिणामसँगै पक्ष विपक्ष सकिएको र सबैसँग मिलेर निजी क्षेत्रको आवाज उठाउने बताएका छन्। शेखर गोल्छाको नेतृत्वमा एड्भोकेसी गर्दै आफूले सार्वजनिक गरेका २५ बुँदे कार्यक्रमलाई अघि बढाउने उनले उद्घोष पनि गरे। महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६४ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए।

शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ ४५५ मत ल्याई निर्वाचित भएका हुन्। त्रिवेणी समूहका निर्देशक संघई ढकाल प्यालनबाट चुनावी मैदानमा थिए। उनले किशोर प्रधान समूहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन्। ८९० मत खसेकोमा ज्योतीले ४३४ मत ल्याए। एक भोट बदर भएको महासंघ निर्वाचन समितिले जनाएको छ।

संघई एनआइसी एशिया, प्रेडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिटी सेन्टर, बिगमार्ट लगायतका दर्जनौं कम्पनीमा लगानी छ। संघाईले यसअघि महासंघमा चार कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन्। महासंघको रोजगारदाता परिषदमा संघाईले उपसभापतिको जिम्मेवारी वहन गरिसकेका छन्।

जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ५८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी ढकाल समूहबाट उम्मेदवार बनेका गुणनिधि तिवारीले ४७ मत ल्याए। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ र काठमाडौं जिल्ला संघको नेतृत्व गरिसकेका श्रेष्ठ २०५८ सालमा पहिलोपटक महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका थिए।

उनले महासंघको साना तथा घरेलु उद्योग विकास समिति, प्रविधि समिति, भन्सार समिति, राजस्व समिति, उद्योग समिति, मेला प्रवद्र्धन समिति, विधान संशोधन समितिमा बसेर काम गरिसकेका छन्। श्रेष्ठ यसअघि पनि महासंघको उपाध्यक्ष भइसकेका छन्।

जिल्ला तथा नगरको तर्फबाट महासंघको केन्द्रीय समितिमा १८ जना कार्यकारिणी समितिका लागि ३८ जना प्रतिष्पर्धामा थिए। जिल्ला नगरका अधिकांश सदस्यमा प्रधान समूहबाट निर्वाचित भएका छन्। प्रधान प्यानलका ११ जना र ढकाल प्यानलबाट ७ जना जिल्ला नगर सदस्यमा निर्वाचित भएका हुन्।

जिल्ला तथा नगरको सदस्यमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभकान्त पौडेल, कमल श्रेष्ठ, गजेन्द्र भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर खड्का, सुरकृष्ण वैद्य, कुबिर कुमार श्रेष्ठ, डिबी बस्नेत, उमेश डालमिया, किशोर कुमार आचार्य, महेन्द्र कुमार श्रेष्ठ, अमृत भट्टचन, र गोपाल कौडिया निर्वाचित भए।

वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्। उनले ६२ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे। लक्ष्मी समूहका कार्यकारी निर्देशक रहेका श्रेष्ठ १६ वर्षदेखि महासंघमा आबद्ध छन्। उनले महासंघमा उद्योग समितिको सभापति, राजस्व समितिको सहसभापति र रोजगारदाता परिषद्को सदस्यको रूपमा काम गरेका छन्। वस्तुगततर्फ सदस्यमा दुवै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्। १४ सदस्यका लागि २९ जना प्रतिष्पर्धामा थिए। सदस्यमा दुवैतर्फबाट ७/७ जना निर्वाचित भएका छन्।

वस्तुगत सदस्यतर्फ सबभन्दा धेरै मत ल्याउने नरेशलाल श्रेष्ठ छन्। वस्तुगततर्फ मीनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, प्रकाशसिंह कार्की, सुकुन्तलाल हिराचन, हेमराज ढकाल, सुवोधकुमार गुप्ता, गोविन्द ढुंगेल, विष्णुप्रसाद गैरे, सन्दिपकुमार अग्रवाल र आकाश अधिकारी विजयी भएका हुन्। खसेको कुल १०५ मतमध्ये २ वटा मत बदर भएको थियो।

संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रीय सदस्यमा विजयी भएका छन्। उनी ढकाल प्यानलबाट निर्वाचित भएका हुन्। १३ मतभार रहेकोमा दामुले ७ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए। २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मत ९शतप्रतिशत० ल्याएर विजयी भएका छन्। गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मत सहित विजयी भएका छन्।

लुम्बिनी प्रदेशबाट जसमेर मियाँ, कर्णाली प्रदेशबाट लालिमान बुढा, सुदुरपश्चिमबाट पुष्पराज कमर निर्वाचित भएका छन्। त्यस्तै कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। उनीहरु दुवै जना ढकाल पक्षका हुन्।
प्रकाशन मिति–२०७७ साल मंसीर १४ गते आइतवार ।