ललितपुर । नेपालको संभवत पहिलो सामाजिक अग्रणी संस्था नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको चल तथा अचल सम्पत्ति संरक्षणमा योगदान दिनेहरुलाई विशेष सम्मान दिने कार्य भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ को आयोजना तथा लगनखेल व्यापारीक बर्गको सहआयोजनामा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको चल तथा अचल सम्पत्ति संरक्षणमा योगदान दिनेहरुलाई सम्मान दिने कार्य भएको हो।

सम्मानित हुनेहरुमा सामाजिक अग्रज प्रणेताहरु सुश्री भद्रकुमारी घले, महालक्ष्मी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, नयनकला थापा, ज्ञानेन्द्र शाक्य, कपिलचन्द्र पोखरेल देखि विकासमान श्रेष्ठसम्म रहेका छन्। अग्रज सामाजिक व्यक्तित्व तथा समाज सुधारक तुलसीमेहर श्रेष्ठको अथक प्रयासवाट ७० बर्षअघि नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको स्थापना भएको थियो।

महात्मा गान्धीको आदर्श कार्य चर्खा चलाएर आत्मनिर्भर बन्ने र बनाउने कार्यमा नेपालमा अत्यन्त योगदान दिने कार्यमा यो संस्थाको अग्रता रहेको छ । यो संस्थाका चल तथा अचल सम्पत्तिको संरक्षण दिनेहरुलाई सम्मानित गर्ने आवश्यकता महशुश गरेर ललितपुर महानगरपालिका वडा नंबर ५ ले पहल गरेको खुलासा आयोजक ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले गरेका छन्।

ललितपुरको भेलाछेँमा जन्मी हुर्केर राणा विरोधी कार्यमा लागेवापत प्रधानमन्त्री चन्द्रशमशेरले जरिवाना स्वरुप भारत प्रवासमा महात्मा गान्धीको चर्खा प्रचारक सुधार कार्यमा खटिएका अहिंसावादी त्यागी तुलसी मेहरले त्यहाँ चार बर्ष बसेर चर्खा चलाउने सीप सिकेर स्वदेश फर्केका थिए।

स्वदेश फर्केर एकल महिला तथा दलितहरुलाई चर्खा चलाउने सीप सिकाएर आत्मनिर्भरतामा बृद्धि गर्ने र गराउने कार्यमा तुलसी मेहरले दिएको योगदानको कदर स्वरुप आफूहरुलाई ती महान सामाजिक सीपका सिल्पीवाट स्थापना भएको पहिलो नेपाली सामाजिक संस्थाको चल तथा अचल सम्पत्तिको संरक्षण गर्न अत्यन्त आवश्यक रहेको ठहर पनि वडा अध्यक्ष श्रेष्ठको छ।

कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीकी पूर्वअध्यक्ष महालक्ष्मी श्रेष्ठले महागुठीको वारेमा यथार्थता पस्कने कार्य भएको थियो। साथमा अर्की पूर्वअध्यक्ष सुश्री भद्रकुमारी घलेले महागुठीले पुर्याएको योगदानको समीक्षा गर्ने कार्य भएको थियो।

कार्यक्रममा स्वागत भाषण ललितपुर महानगरपालिका वडा नंबर ५ वडा सदस्य अशोककुमार श्रेष्ठले गरेका थिएभने, धन्यवाद ज्ञापन वडा सदस्य पूनम निरौलाले गरेकी थिइन्। कार्यक्रमको जुझारु संचालन महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठले गरेकी थिइन्। सामाजिक सेवा परिचालन वडा सदस्य मञ्जु रिजालवाट भएको थियो।
प्रकाशन मिति–२०७८ साल बैशाख ५ गते आइतवार ।