काठमाडौं। नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारका शहरी विकास राज्यमन्त्रीको सम्मान गरेको छ। शनिवार काठमाडौंको धुम्बाराही स्थित स्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको सम्मान गरेको हो।

चलचित्रकर्मी समेत रहेका राज्यमन्त्री मानन्धरले नेपाली चलचित्र उद्योगमा दिएको योगदानको कदरस्वरुप संघले सम्मान गरेको जनाएको छ।

त्यस्तैगरेर, नेपाल वाहिर प्रवास बेलायतमा विगत दुई दशकदेखि अनवरत रहेर नेपाली रंगकर्मको उत्थानमा विशेष योगदान दिएवापत अग्रज रंगकर्मी तथा चलचित्र कैदीको–पत्रका निर्देशक सनम कुमार बैरागलाई पनि संघले सम्मान गरेको छ।

नेपाली लाखे नाचलाई विश्वव्यापी बनाउने अभियानमा लागेका लाखेनाचका अभियन्ता कलाकार विनोद चिपालुलाई पनि सोही समारोहमा विशेष सम्मान गरेको छ।

समारोहमा नेपाल चलचित्र संघका नवनिर्वाचित गोपालकाजी कायस्थ लगायतका पदाधिकार, नवनिर्वाचित निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, कान्तिपुर टेलिभिजनका स्टेशन मेनेजर दिनेश डिसी, इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डये लगायतलाई सम्मान गरिएको थियो।

आयोजक नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको सभापतित्वमा संपन्न कार्यक्रमको संचालन संघका उपाध्यक्ष मोहन निरौलाले गरेका थिए। कार्यक्रममा स्वागत भाषण संघकी बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीवाट भएको थियो। कार्यक्रमको शुभारम्भ मच्छेगाउंमा रहेको नेपाल सांस्कृतिक मन्दिरका कलाकारहरुले लाखे नाच प्रस्तुत गरेर रौनकता बढाएका थिए।
प्रकाशन मिति–२०७६ साल माघ १८ गते शनिवार ।