काठमाडौ। नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो।

बन्दका कारण देशैभरको जनजीवन सामान्य प्रभावित भएको छ। निजी शैक्षिक संस्था बन्द भएका छन् भने उद्योग, कलकारखाना आंशिक रुपमा बन्द छन् । लामो दुरीका सवारी साधन कम मात्र चलेका छन्। काठमाडौं उपत्यकामा भने बन्दको न्यून प्रभाव परेको छ। निजी तथा सार्वजनिक सवारी साधन संचालनमा कुनै कमी भने आएको छैन्।

मुख्य सडकका व्यवसाय बन्द भए पनि भित्री शहरका अधिकांश पसल तथा व्यवसाय खुला नै छन्। यसैबीच पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमाथि बिहान आगजनी गरिएको छ। कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकी राखेको ना.२ ख ८४८७ र ना २ ख २५४८ नं. का ट्रकमाथि आगजनी भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

त्यसैगरेर, भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ।

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो। दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताएका छन्।


प्रकाशन मिति–२०७५ साल साउन २९ गते मंगलवार ।