काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ। राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको भ्रमण वर्षको बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा औपचारिक शुभारम्भ गरेकी हुन्।

शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको यो महाअभियान भएकाले सबै क्षेत्रहरु मिलेर पर्यटन विकासका लागि लाग्न आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले हिमाल, पहाड, तराईदेखि विभिन्न संस्कृतिले भरिपूर्ण नेपालको भ्रमण गरेर अनुभव लिनसमेत आह्वान गरिन्।

योजनाबद्ध पर्यटनको विकास गर्नसकेमा मात्रै पर्यटनले गति लिनसक्ने भन्दै राष्ट्रपति भण्डारीले पर्यटनको विकासलाई अझै पर्यटकमैत्री बनाउनुपर्ने कुरामा जोड दिएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुभारम्भ कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताएका छन्।

यसअघि, सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवर्द्धनात्मक गतिविधि सन्चालन गरेको थियो।

त्यस्तै, सन् २०११ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो । सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो।

सन् २०१७ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१८ भने १२ लाख पर्यटक नेपाल आएका थिए। सन् २०२० को भिजिट नेपालको लक्ष्य २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नेपाल सरकारले राखेको छ।


प्रकाशन मिति–२०७६ साल पुस १६ गते बुधवार ।