काठमाडौ। नेपालका प्रधानमन्त्री केपी ओलीले राष्ट्रघात गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धिहीन भएको र राष्ट्रघाती सम्झौता भएको भन्दै काठमाडौंको घण्टाघर, दरबारमार्ग र रत्नपार्क क्षेत्रमा प्रदर्शन गरिएको हो।

संघले भारतीय प्रधानमन्त्री मोदीको समाचार संकलनमा नेपाली सञ्चारमाध्यमलाई रोक लगाएकोमा पनि विरोध गरेको छ। भारतीय सञ्चारमाध्यमलाई एकलौटी प्रवेश दिनु र नेपाली सञ्चार माध्यमलाई रोक लगाईनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै संघले आपत्ति जनाए।

नेपाली भूमिमा भारतीय सेनाको सुरक्षा गस्ती लज्जास्पद भएको भन्दै सरकार भारतीय इशारामा चलेको आरोप संघको रहेको छ। भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग समेत नेवि संघले गरेको छ।

Photo By-Laxmi Kumari Shrestha
प्रकाशन मिति–२०७५ साल जेठ १ गते मंगलवार ।