ललितपुर । नेपाल व्यावसायिक कलाकार संघले स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस २०७७ मनाएको छ। संघको २६ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस २०७७ मनाएको हो।

नेपालवाट ८ सय ३४ बर्षअघि १७ बर्षको उमेरमा करिब ८० कलाकारको नेतृत्व गरेर चीनमा गएर नेपाली कलाकारिताको कौशलता प्रदर्शन गरेर नेपाल र नेपालीको नाम तथा प्रतिष्ठा बढाउने अरनिकोको स्मृतिमा प्रत्येक बर्षको पुस २३ गते संघले अरनिको दिवस तथा संघको स्थापना दिवस एकसाथ मनाउने कार्य गर्दैआएको संघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कलाकार प्रेमलाल श्रेष्ठले वताएका छन्।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यको प्रमुख आतिथ्यता तथा शताव्दी पुरुष तथा संस्कृति एवम् अरनिकोविद डा.सत्यमोहन जोशीको विशिष्ट आतिथ्यता थियो।

कार्यक्रममा हेम–गंगा युवा कला प्रतिभा पुरस्कारवाट कान्छाकाजी भासिम, हेम–गंगा नारी कला प्रतिभा पुरस्कारवाट सुश्री भद्राकुमारी घले, क्यान आइडियल कला पुरस्कारवाट अग्निराज पौडेल, मुल्मी ग्राफिक डिजाइन पुरस्कारवाट कृष्णगोपाल श्रेष्ठ, अमात्य कला पुरस्कारवाट कृष्णप्रकाश शाह, क्यान सिग्देल आर्ट पुरस्कारवाट दीपक कुँवर क्षेत्री, निर्वाण कला पुरस्कारवाट विक्रमश्रि (सुनसरी), बालकृष्ण स्मृति पुरस्कारवाट दामोदर बराल, सुरेन्द्र प्रधान दीर्घ कला–साधक सम्मान कृष्णगोपाल रञ्जित र क्रोधकला शिरोमणि कालु कुमाले परम्परागत कला पुरस्कारवाट श्यामदास अशान्तलाई सम्मानित गरिएको थियो।

त्यसैगरेर, मूर्तिकार प्रो.गोविन्दनारायण ज्यापू, कलाकार राजेन्द्र केसी र रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई पनि सम्मानित गरिएको थियो।

ललितपुरको सानेपास्थित क्लासिक भेन्युमा आयोजित कार्यक्रममा राष्ट्रिय विभूति कलाकार अरनिकोको ख्याति र कलाकारिताको वारेमा गन्यमान्य व्यक्तित्व तथा कलाकारहरुले प्रकाश पार्ने कार्य भएको थियो। संघका महासचिव भोलानाथ पौड्यालको कार्यक्रम प्रस्तुतिमा भएको कार्यक्रम संघका अध्यक्ष आई.बी.मल्लको सभापतित्वमा संपन्न भएको थियो।

प्रकाशन मिति–२०७७ साल पुस २३ गते विहीवार ।