काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। नेपालका संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी नेवाः पत्रकार राष्ट्रिय दबूले विविध समस्याका विषयमा ध्यानाकर्षण गराएको हो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका राष्ट्रिय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र विस्तारको लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रुपमा सम्बोधन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।

त्यस्तै सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनबाट हालै तामाङ र लिम्बु भाषामा समाचार प्रसारण गर्न शुरु गरेकोमा हर्ष प्रकट गर्दै यसले सञ्चारमाध्यममा सबैको आवाज र मातृभाषामा सूसुचित हुने हकलाई सम्मान गरेको बताउँदै दबूले नेपाल टेलिभिजनमा नेपालभाषाकोे माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गरिदिन मन्त्री शर्माको ध्यानाकर्षण गराएको थियो । त्यस्तै पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिनुपर्ने माग पनि मन्त्री समक्ष राखेका थिए ।

अध्यक्ष श्रेष्ठका अनुसार दबूले स्थापनाकालदेखि आत्मसात गर्दै आइरहेको विचार, उठाउदै आइरहेको मुद्दा र पैरवी गर्दै आइरहेको एजेण्डा विषयसँगै २०७९ पुस २३ गते ललितपुरमा सम्पन्न चौथौं महाधिवेशन तथा दसौं वार्षिक साधारण सभा र २०७९ माघ १९–२० गते लुम्बिनीमा सम्पन्न पहिलो केन्द्रीय समितिले पारित गरेका विषयमा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

भेटमा अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषाबाट पत्रकारिताको शुरुआत भएको सय वर्ष पुग्ने तरखरमा रहेको बताउँदै नेपाल संवत् १०४५ अर्थात् वि.सं. १९८२ सालको बुद्धजयन्तीको दिन नेपालभाषाको माध्यमबाट पहिलो पत्रिका ‘बुद्ध धर्म’ प्रकाशित भएको मन्त्री शर्मालाई जानकारी गराउँदै पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यबाट नं मान्यता प्रदान गर्नुपर्ने माग गरेका थिए ।

भाषानुरागी धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्तामा प्रकाशित गरेको सो पत्रिका नेपालकै नागरिकले मातृभाषामा प्रकाशित गरेको पहिलो पत्रिका रहेको दावी अध्यक्ष श्रेष्ठले गरे ।

नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको समन्वयमा धर्मादित्य धर्माचार्यको जन्मदिन बुद्धजयन्तीको अघिल्लो दिनलाई विगत सात वर्षदेखि मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउन थालेको पनि मन्त्रीलाई जानकारी गराएका थिए ।

दबूले नेपाल संवत् ११४४ अर्र्थात् आगामी २०८० साल कार्तिकदेखि अर्को वर्ष कार्तिकसम्म मातृभाषा पत्रकारिता शताब्दी महोत्सव मनाउने तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइएको थियो।

शतवार्षिकीका अवसरमा पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को जीवनी प्रकाशित गर्ने, उहांको कृतित्व र व्यक्तित्व चर्चा, उहांको शालिक राख्ने, हुलाक टिकट प्रकाशित गर्ने, मातृभाषाको पत्रकारिता बारे विभिन्न गोष्ठी, सभा, अन्तक्र्रिया कार्यक्रमहरु गर्ने योजना रहेको पनि बताइएको छ।

यस्तै समावेशी सञ्चार क्षेत्रको विषयमा सञ्चारकर्मीको दक्षता, क्षमता अभिवृद्धि, अभिमुखीकरण, युवावर्गलाई सञ्चार क्षेत्रमा आकर्षित गर्ने विषय पनि जोडिएको बताउँदै नेवाः लगायत आदिवासी जनजाति पत्रकारहरुको उत्पादन र पुनःताजगी तालिम संचालन रहेको पनि मन्त्री शर्मालाई जानकारी गराइएको थियो ।

यसैगरी राज्यले प्रदान गर्ने लोककल्याणकारी विज्ञापन र अन्य अनुदान वितरण गर्दा समानुपातिक समावेशीतालाई प्राथमिकता दिने संस्थाहरूलाई प्राथमिकता दिने र समावेशीताका लागि प्रोत्साहन गर्नुपर्ने, सञ्चार सम्बन्धी हाल अस्तित्वमा रहेका र भविष्यमा गठन हुने सम्पूर्ण निकायहरुलाई पूर्ण समावेशी बनाइनुपर्ने माग पनि दबूको रहेको छ ।

९ बुँदे ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री शर्माले नेवाः पत्रकारहरुको योगदानको प्रशंसा गर्दैै विभिन्न भाषाभाषी समेटेर नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार प्रशारणका लागि आफूले कुरा राख्ने बताइन् ।

 

यसैबीच दबूका सदस्यहरुले नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बललाई पनि भेट गरेर नेपाल टेलिभिजनमा नेपालभाषाको पनि समाचार राख्नका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । महाप्रवन्धक बलले नेवाः पत्रकार राष्ट्रिय दबूको कार्यले आफू खुशी भएको र नेपालभाषालाई आफूले पनि माया गरेको यस भाषालाई टेलिभिजनमा समावेश गर्न पाए आफु पनि खुशी हुने बताए ।
प्रकाशन मिति–२०७९ साल फागुन ९ गते मंगलवार ।