काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ र लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान)बीच सहकार्य सम्बन्धी समझदारी भएको छ । दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन्।

उक्त समझदारीपत्रमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठ र एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार दुवै संस्थाले वित्तीय नीति र प्रक्रियामा विभिन्न सरोकारवालासँग सहकार्य र संयुक्त रुपमा लबी गर्ने र दुवैपक्षलाई फाइदा हनु अनुकूल वातावरण सिर्जना गर्नेतर्फ मिलेर काम गर्नेछन् ।

प्रशिक्षण, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रम संयुक्त रुपमा आयोजना गर्ने, महासंघ र मातहतका जिल्लास्तरमा गठित विभिन्न समितिहरुमा आवश्यकता अनुसार एक्यानको प्रतिनिधित्व गर्न पदेन सदस्य रहने व्यवस्था मिलाउने, दुवै संस्थाका प्रदेश तहका कार्यालय र समितिबीच समन्वय गरी आपसी समझदारी र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख छ।

दुई वर्षका लागि गरिएको समझदारी अन्तर्गत एक्यानले महासंघका सदस्यलाई विषयगत तालिम पनि उपलब्ध गराउने छ। समझदारीबारे टिप्पणी गर्दै महासंघका अध्यक्ष श्रेष्ठले यसबाट महासंघमा आबद्ध ३६ जिल्लाका १० हजारभन्दा बढी सदस्यले चार्टर्ड एकाउन्टेन्टसहरुको विज्ञतामा आधारित सरसल्लाहबाट प्रभावकारी व्यावसायिक योजना बनाएर अघि बढ्न सक्ने बताए।

एक्यानका अध्यक्ष वाग्लेले आफ्ना सदस्यहरुको विज्ञताबाट हेभी इक्विपमेन्ट व्यवसायीहरु लाभान्वित हुन सकून् भन्ने उद्देश्यले नै सहकार्य गर्न लागेको बताए। संघले सञ्चालन गर्दै आएको कर, बजेट, मौद्रिक नीति लगायत अन्य आर्थिक नीतिसम्बन्धी सचेतना कार्यक्रम महासंघका सदस्यमार्फत अघि बढाउन पनि यो सहकार्यले योगदान गर्ने उनको भनाइ छ।

प्रकाशन मिति–२०७८ साल मंसीर २९ गते बुधवार ।