काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले विपत व्यवस्थापन कोष स्थापना गरेको छ। मुलुकमा विभिन्न प्राकृतिक प्रकोप तथा कोभिड–१९ जस्तो महामारीले ताण्डब नृत्य गरिरहेको वर्तमान अवस्थालाई मध्यनजर गरेर सामाजिक उत्तरदायित्व अन्तरगत महासंघले विपत व्यवस्थापन कोष स्थापना गरेको हो।

आइतवार महासंघको केन्द्रिय कार्यालय सानो भर्याङ बालाजु बनस्थली रोडमा आयोजित विशेष केन्द्रिय आकस्मिक बैठकले उक्त निर्णय गरेको जानकारी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। महासंघका अध्यक्ष श्रेष्ठका अनुसार, महासंघले स्थापना गरेको विपत व्यवस्थापन कोषमा नगद पाँच लाख जम्मा भैसकेको छ।

महासंघका सदस्यहरुले स्वतःस्फूर्त रुपमा जम्मा गरिएको रकमवाट उक्त राशी पुगेको र क्रमिक रुपमा थप हुंदैजाने क्रम रहेको जानकारी महासंघका महासचिव सुरेश खत्रीले दिएका छन्। महासचिव खत्रीले सिन्धुपाल्चोकको मेलम्ची पीडितहरु मध्येपनि हालसम्म केही नपाएका साँच्चैको पीडितहरुको स्थलगत अध्ययन गरेर महासंघले कोषवाट सहयोग गर्ने तयारी भैरहेको वताएका छन्।

प्राकृतिक प्रकोप जस्तो विपतको बेला नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघ आवद्ध सदस्यहरुले आफ्ना स्थानवाट डोजर, स्काभेटर लगायतका सामाग्री निःशुल्क परिचालन गरेर तथा नगदै सहयोग गर्ने कार्य पनि भैरहेको महासंघले जनाएको छ।

प्रकाशन मिति–२०७८ साल साउन १८ गते सोमवार ।