काठमाडौं। नेवाःपत्रकारहरुको छाता संगठन नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभा संपन्न भएको छ। काठमाडौंको टेकुस्थित सासा ब्याँक्विटमा दबूःको छैठौ साधारणसभा संपन्न भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा संपन्न भएको साधारणसभामा नेवाःपत्रकार कल्याणकारी कोषको स्थापना भएको छ। कोषको लागि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले नगद ५ लाख दिने घोषणा गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाले दिने भनेको नगद ५ लाख र वाँकी विभिन्न दाताहरुले दिने भनिएको नगद ७ लाख सहित १२ लाखको नेवाःपत्रकार कल्याकारी कोष स्थापना भएको जानकारी नेवाःपत्रकार राष्ट्रिय दबूःका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

नेवाःपत्रकार कल्याणकारी कोषवाट नेवाःपत्रकारहरुको आपतकालिन उपचारमा खर्चिने कोषाध्यक्ष श्रेष्ठले भनेका छन्। सोही समारोहमा हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले किड्नी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको सहयोगार्थ नगद १ लाख संकलन गरेर ल्याएको रकम हस्तान्तरण गर्ने कार्य भयो।

त्यस हस्तान्तरण कार्यक्रममा अन द स्पट थप ३५ हजार संकलन भएको थियो। नेवाःपत्रकार राष्ट्रिय दबूःका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार, किडनी पीडित फोटोपत्रकार आशाकाजी महर्जनको उपचार सहयोगार्थ शुरुदेखि हालसम्म दबूःको अगुवाईमा २ लाख ४ हजार संकलन भएको छ।

किड्नी रोगवाट पीडित फोटोपत्रकार आशाकाजी महर्जनले आफ्नो मरिसकेको जिन्दगीलाई बचाइदिएकोमा नेवाःपत्रकार राष्ट्रिय दबूःलाई धन्यवाद तथा आभार प्रकट गरेका छन्।

त्यसैगरेर, नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारण सभामा राष्ट्रिय समाचार समितिका समाचार सम्पादक राजु शाक्य, बीबीसी नेपाली सेवाका पत्रकार ईश्वरकुमार जोशी, अग्रज फोटोपत्रकार नातिकाजी महर्जन र अग्रज पत्रकार रुक्मिणी श्रेष्ठलाई जनही नगद १० हजारसहितको विभिन्न नामको पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्य भएको छ।

कार्यक्रम नेवाःपत्रकार राष्ट्रिय दबूःका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा संपन्न भएको छैठौ साधारणसभाको ३ नंबर प्रदेशका सांसद राजेश शाक्यले उदघाटन गरेका थिए। सभामा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर, भाषासेवी अग्रज नरेशवीर शाक्य लगायतको आतिथ्यता थियो।
प्रकाशन मिति–२०७५ साल माघ २६ गते शनिवार ।