काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सदस्य जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि मंगलवार रिहा भएका छन्। मंगलबार सर्बोच्च अदालतको आदेशपछि पत्रकार महर्जन रिहा भएका हुन्। नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो।

प्रहरीले महर्जनलाई चैत्र २६ गते काठमाडौंको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै गिरफ्तार गरेको थियो। नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेवाःपत्रकार राष्ट्रिय दबू नेपाललगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ–संगठनहरुले महर्जनको गिरफ्तारीको बिरोध जनाएका थिए।

नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए। रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो। अदालतको आदेशलपछि रिहा भएका महर्जनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेको थियो।

सो घटनाको विरोध गर्दै महर्जनको रिहाको माग गर्दै केहि दिन अघि मात्रै नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा माइतिघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेको थियो। रिहा पछि क्रान्तिकारी पत्रकार संगठन नेपाल ,नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार साँझ संवाद डबलीमा महर्जनलाई अभिनन्दन गरेको छ। यो कार्यमा सहयोग गर्नुहुने सबै पत्रकार तथा संगठनहरुलाई हार्दिक धन्यवाद तथा आभार नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले प्रकट गरेका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १८ गते बुधवार ।