काठमाडौं। नेवार पत्रकारहरुको आधिकारिक छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नंबर १५ लखतिर्थ स्थित विष्णुमति लिंकरोडमा नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखा कार्यालय उदघाटन भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं शाखा कार्यालयको विधिवत रुपमा उदघाटन गरेका थिए। बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्य लगायत स्थानीय वडा अध्यक्षहरु ईश्वरमान डंगोल, शशिलाल श्रेष्ठ, चीनियामान बज्राचार्य, नविन मानन्धर, न्हुच्छेकाजी महर्जनको विशेष आतिथ्यतामा भएको काठमाडौं शाखा कार्यालयको उदघाटन समारोहमा शाखाका महासचिव रत्नकाजी महर्जनले कोरोनाको महामारीमा शाखामा आवद्ध १ सय १८ जना पत्रकारहरुको लागि मायाको चिनो स्वरुप राहत उपलव्ध गराउन सफलता प्राप्त गरेको लगायत पत्रकारहरुको उत्थान विषयमा प्रगति विवरण पेश गरेका थिए ।

शाखाका अध्यक्ष अर्बिन्द्रमान सिंहले पत्रकारहरुका हक, हित र अधिकारका वारेमा प्रकाश पारेका थिए। त्यस्तै कार्यक्रम संयोजक मनोजरत्न शाहीले स्वागत भाषण गरेको कार्यक्रममा उपाध्यक्ष प्रविन महर्जन प्रजापतिले भावी योजना र वर्तमान अवस्थाका वारेमा जानकारी दिएका थिए। नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको विकासमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाको उल्लेखनिय योगदान रहेको कुरामा जोड दिएका थिए।

कार्यालय भएपछि हरेक कार्य गर्न सहज हुने तर्क दिदै मेयर शाक्यले काठमाडौं महानगरपालिकाका सवै वडा भवनहरु निर्माण गर्ने आफ्नो योजना अनुरुप भैरहेको भएतापनि महानगरको केन्द्रिय कार्यालय भवन निर्माण गर्ने कार्यमा अनेक मुददा मामिलाका कारण ढिलाई भैरहेको यथार्थता पेश गर्दै आफूले गर्न खोजेका सकारात्मक कार्यहरुमा बाधा तथा विरोध गर्नेहरुको कुनै कमी नभएतापनि सवै कार्य पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७७ साल माघ १७ गते शनिवार ।