काठमाडौं। नेवार कन्याहरुले नाक छेड्ने कार्य परापूर्व कालदेखि हालसम्म पनि गर्ने गरेको छैन्। नेपालका अन्य जातिले प्राय नाक छेड्ने गरेको भएतापनि नेवार कन्याहरुले नाक छेड्ने नगरेको हो। यसमा पौराणिक धार्मिक तथा सांस्कृतिक कारण रहेको खुलासा अमेरिकामा रहेका नेवाः संस्कृति विज्ञ बासब जुजु राजोपाध्यायले गरेका छन्।

अमेरिकावाट भिजन संसार डटकमसंग कुराकानी गर्दै संस्कृति विज्ञ राजोपाध्यायले यसमा कुमारी संस्कृति देखि महालक्ष्मी देवीसम्म कुरा जोडिएको बताएका छन्। नेवार कन्याहरु रजोश्वला नभएसम्म कुमारीको रुपमा लिइने गरिन्छ। कुमारी त्यो जीवित देवी हो–जसको अनुहारमा कुनै खोट हुदैन। कान वाहेक अनुहारका कुनै भागमा खोट भएमा कुमारी बन्न सक्दैन ।

यसकारण रजोश्वला नभएसम्म नेवार कन्याहरुलाई कुमारीका रुपमा लिइने भएको कारण अनुहारमा खोट नलगाउनका लागि नै नाक छेड्ने कार्य नगरेको जिकिर संस्कृति विज्ञ राजोपाध्यायको रहेको छ।

त्यस्तै, इहि संस्कार गरेपछि नेवार कन्यालाई लक्ष्मीको प्रतिकको रुपमा लिइने गर्दछ र विवाह पश्चात महालक्ष्मीको रुपमा लिइने सांस्कृतिक तथा धार्मिक मान्यता रहेको कारण नाक छेड्ने कार्य नभएको हो।

नेवार कन्याको विवाह पश्चात उनको श्रीमानलाई ज्वाई नारायण भन्ने गर्दछ। नारायण संवोधनवाट पनि नेवार कन्या महालक्ष्मी भएको प्रतित हुने गरेको यथार्थता वताउंदै संस्कृति विज्ञ राजोपाध्यायले यो दुई कारण वाहेक अन्य कुनै कारण नभएको स्पष्ट पारेका छन्।

प्रकाशन मिति–२०७८ साल भाद्र १९ गते शनिवार ।