काठमाडौंं। नेपालमा नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका मनाउने कार्य भैरहेको छ। हिजो म्हःपूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्।

नेपाल पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो। तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो।

हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४० भएकाले आज किजापूजा मनाउन लागिएको हो। नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हःपूजा गर्ने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हःपूजा गरे।

कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हःपूजा गरेका थिए। तिथिको घटबढले आज किजापूजा पर्न गएको हो। आज शानदार रुपमा किजापूजा गर्नेहरु विहान देखि नै किजापूजाको मूडमा देखिएका छन्।

रमाइलो अनुभूति गरिरहेका छन्। हिजो नेपाल संवत नयाँ बर्ष ११४० को उमंग मनाएर रौनकतामा रहेका नेवार समुदाय यतिखेर किजापूजामा मनमगन रहेका छन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक १३ गते बुधवार ।