–श्याम स्मृत
काठमाडौ। आज शनिवार अम्बर गुरुङ्ग नहुनुको १२ औ दिनको पूण्यतिथि ! यो पूण्यतिथिमा काठमाडौको बूढानिलकण्ठमा अजर अमर स्रष्टा अम्बरलाई संझ्ने कार्य भएको छ। अग्रग गायक एवम् संगीतकार सूर्य थुलुङ्ग देखि नेपाल अजर अमर गीतका प्रवद्र्धक प्रकाश सायमीसम्मले अम्बरलाई संझे। उनै अम्बर सवैको दिल र दिमागमा अमर बनेर बसेका छन्।

Amber Gurung

नेपालका नौलाखा तारा भनेपछि अम्बर गुरुङ्गको नाम आउने गर्छ। नेपाली आधुनिक सुगम संगीतको अमर नौ लाखा तारा नै बन्न सफल अम्बर गुरुङ्गको ७९ बर्षको उमेरमा जेठ २५ गते निधन भयो। एउटा नेपाली संगीतको अमर गीतको अम्बर युग नै समाप्त भएको आभास धेरै नेपाली संगीतकर्मीहरुले गरेको पाइयो । नेपालको राष्ट्रिय गानको संगीतकार समेत रहेका अम्बर गुरुङ्गको भारतको दार्जिलिङ्गमा वि.सं. १९९४ फागुन १४ गते जन्म भएको थियो। अम्बरको पुख्र्यौली घर गोर्खाको रिसिङ हो। उनका तीन छोरा र एक छोरी छन्। 

संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिएका छन् । वि.सं.२०१८ सालमा अगम सिंह गिरीको शब्दमा नौलाख तारा उदाए बोलको कालजयी गीत आफ्नै संगीतमा गाएर उनले सांगीतिक यात्रा शुरु गरेका थिए। यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोले त्यो बेला प्रतिबन्ध नै लगाएको थियो।
वि.सं.२०२१ सालमा दार्जिलिङ्गवाट नेपाल आएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नामक सांगीतिक कार्यक्रम गरेका थिए । नेपाल आएलगत्तै उनलाई तत्कालीन राजा महेन्द्रले राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गरेका थिए।

नेपाली भाषी भारतीय भएतापनि अम्बरलाई तत्कालिन राजा महेन्द्रले त्यो बेला हुकुमी प्रथा प्रचलनवाट नेपाली नागरिकता नै दिएपछि अम्बर नेपाली नागरिक बनेका थिए। नेपाली नागरिकता पाएपछि सपरिवार नेपाल बसाई सरेका अम्बरका लागि नेपाल संगीतको खेती गर्ने उर्वरभूमि नै बन्यो। तत्कालिन राजा महेन्द्रले टीका लगाएको भरमा नेपाली नागरिकता पाएर नेपाली बनेका अम्बरलाई कतिपयले राजावादी भनेतापनि तत्कालिन रानी ऐश्वर्यको हुकुमी आदेशलाई नमान्ने संगीतकारका रुपमा लिइने गरेको छ।

रानी ऐश्वर्यले चाँदनी शाह उपनामवाट लेख्ने गीत गाउने तथा तिनमा संगीत दिएर धेरै गायक–गायिका र संगीतकारले चाकडी बजाएपनि उनले त्यस्तो गरेको पाइएन। रानी ऐश्वर्यले चाँदनी शाहको उपनामवाट लेख्ने प्राय गीतलाई गीत नै नमान्ने उनले चाँदनी शाहका कुनैपनि रचनामा संगीत नभरेर क्रान्तिकारी कार्य गरेको धेरै संगीतकर्मीहरुको मुखवाट सुन्न पाइन्छ।

राजाको पालामा राजाकै निगाहमा सवैथोक पाएर पनि राजदरवारको कहिले पनि गुणगान नगाउने स्वभावले गर्दा नै उनको स्वाभिमानमा आँच नआएको संगीत विश्लेषक प्रकाश सायमीको ठहर रहेको छ। संगीतज्ञ सूर्य थुलुङ्ग त अम्बर गुरुङ्गलाई नेपाली संगीतको बेग्लै आयाम तथा पहिचान भन्न रुचाउंछन्। मिडिया व्यवसायी सिर्जना जोशी अम्बर गुरुङ्गलाई मुड्डी कलाकारको रुपमा आफूले पाएको भन्छिन्।

मूडमा काम गर्न रुचाउने अम्बरलाई नेपाली नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानको कुलपति बनाउन आफूले प्रयास गर्दा निक्कै संझाउनु परेको र त्यो पद अस्वीकार गर्दा अम्बर पत्नी विणालाई भनेपछि बल्ल मानेको त्यो क्षणलाई मिडिया व्यवसायी जोशीले संझेकी छन्। त्यो बेलाको केएटीएच एफएमको कार्यक्रम प्रस्तोता भएर कार्यरत रहंदा अम्बर गुरुङ्गको अन्तरवार्ता लिएपछि अम्बर अत्यन्त प्रभावित बनेर एक–दुई दिन विराएर जोशीलाई भेट्न एफएमको कार्यालय न्यूरोड पुग्ने गर्दथ्यो। ट्वाक्क प्राय साँझ ५ बजे एफएम पुग्ने अम्बर जोशीलाई लिएर न्यूरोड घुम्ने गर्दा देख्ने प्रायले उनीहरुलाई हजुरबा र नातिनी संध्याकालिन सयर भनेर भन्ने गर्ने गर्दथ्यो। त्यो सिलसिला धेरै समय चलेकोले पनि जोशीले अम्बरलाई हजुरबा नै मानेकी छन्।

नेपाली चलचित्र जीवन रेखाको अलावा थारुभाषाको प्रथम चलचित्र करममा संगीत दिने स्रष्टामा अम्बर गुरुङ्ग नै हुन्। वि.सं.२०४७ सालमा निर्माण भएको थारुभाषाको चलचित्र करममा संगीत दिएर इतिहास रच्ने कार्य पनि गरेका थिए।थारुभाषाको पहिलो चलचित्रको संगीतकारको इतिहास रचेका अम्बर थारुभाषी चलचित्रकर्मीहरुको पनि श्रद्धाको पात्र भएको जिकिर थारु चलचित्रका प्रणेता परशुराम चौधरीको रहेको छ। त्यो बेलामा थारुभाषा पनि नेपालमा बोलिन्छ र भन्ने समयमा थारुभाषाको पहिलो चलचित्र करम निर्माणताका अम्बर गुरुङ्गले परशुराम चौधरीलाई तपाई फिल्म बनाउनुस् र तपाईको फिल्ममा म संगीत दिन्छु भनेर हौस्याएको त्यो क्षणलाई चौधरीले अझै संझेका छन्।

राष्ट्रिय गानका रचयिता व्याकुल माहिला राष्ट्रिय गानको रेकर्डको बेलामा मात्र अम्बर गुरुङ्गसंग हिमचिम भएको र त्यसबेला आफूलाई त्यतिधेरै ठूलो मान्छे भएर पनि अत्यन्त सम्मान दिएको कुरालाई नकार्दैनन्। सानालाई पनि त्यतिकै आदर गर्न सक्ने खुवी भएका कर्मशील संगीतकार रुपमा व्याकुल माहिलाले मूल्याँकन गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ४ गते शनिवार ।