Amber Gurung in Aryaghat 2काठमाडौ। नेपालका नौ लाखा तारा अम्बर गुरुङ्गको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो। राष्ट्रिय गानका संगीतकार समेत रहेका प्रसिद्ध गायक एवम् संगीतकार अम्बर गुरुङ्गको ७९ बर्षको उमेरमा आज मंगलवार विहान २ बजेर ३७ मिनेटको समयमा दुःखद निधन भएको थियो।

काठमाडौको टोखा रोडस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारत रहेका संगीतकार अम्बर गुरुङ्गको निधन भएको खवर विहानैवाट फैलिएपछि ग्राण्डी अस्पताल पुग्नेहरुको निक्कै भीड लागेको थियो।

सर्वसाधारणको अन्तिम श्रद्धाञ्जलीको लागि अम्बर गुरुङ्गको पार्थिव शरीरलाई कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा मध्यान्ह १२ बजेवाट अपरान्ह ३ बजेसम्म राखेर दाहसंस्कारको लागि पशुपति आर्यघाट लगिएको थिय।

Amber Gurung in Aryaghat 1

आर्यघाटमा हिन्दू तथा बौद्ध धार्मिक संस्कार अनुसार दाह संस्कार गरियो। अम्बर गुरुङ्गको पार्थिव शरीरमा अम्बरका जेठो छोरा किशोर गुरुङ्गले दागबत्ती दिएका थिए। यसअघि आर्यघाटमा नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले अम्बरको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान दिएका थिए। आर्यघाटमा हजारौ शुभेच्छुकहरुको भीड लागेको थियो।

Ambar Gurung 2स्वासप्रश्वासमा समस्या देखिएपछि वरिष्ठ संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो। उनमा स्वासप्रश्वाससँगै भोजन नलीमा समस्या, मधुमेह तथा उच्च रक्तचापलगायतका समस्या थियो । उनी भारतको मेदान्त अस्पतालमा उपचार गरी गत चैत १७ गते नेपाल फर्किएका थिए।

दार्जिलिङमा १९९४ फागुन १४ गते जन्मिएका उनको पुर्ख्र्यौली घर गोर्खाको रिसिङ हो । उनका तीन छोरा र एक छोरी छन् । संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिएका छन् । २०१८ सालमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उनले सांगीतिक यात्रा शुरु गरेका थिए। यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोले प्रतिबन्ध लगाएको थियो।

Ambar-Gurung

२०२१ सालमा दार्जिलिङबाट नेपाल आएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नामक सांगीतिक कार्यक्रम गरेका थिए । नेपाल आएलगत्तै उनलाई तत्कालीन राजा महेन्द्रले राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गरेका थिए। वरिष्ठ संगीतकार गुरुङलाई २०५६ सालमा ईमेज च्यानलले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो ।

वरिष्ठ संगीतकार गुरुङलाई २०५४ सालको जगदम्बाश्री पुरस्कार, २०२८ सालमा गोरखा दक्षिण बाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार प्रदान गरिएको थियो । नेपाली सेनाको सैनिक गीतमा संगीत दिएका गुरुङलाई सेनाले मानार्थ महासेनानीको उपाधि दिएको छ । अम्बर गुरुङलाई सन् २०१४ मा हङ्कङमा हिमालयन टोन्स म्युजिक एकेडेमीले महासंगीतकारको उपाधि दिएको थियो । त्यस्तै उनी सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलिङबाट सम्मानित भएको थिए ।
प्रकाशन मिति–२०७३ साल जेठ २५ गते मंगलवार ।