काठमाडौ। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी डिआइजी शैलेश थापाको भनाई रहेको छ। रवि लामिछानेलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिएको छ।

चितवन प्रहरीको अनुरोधमा रवि लामिछानेलाई पक्राउ गरिएको डिआइजी थापाले भनेका छन्। लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले कलंकीवाट रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

गत साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। होटलको कोठा रहेको पङ्खामा डोरी लगाइ मृत अवस्थामा प्रहरीले फेला पारको थियो।

घटनास्थलमा भेटिएको मृतकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो। भिडियोमा पत्रकार पुडासैनीले भने रवि लामिछाने लगायत टिमले एक युवती लगाएर आफू आत्महत्या गर्न बाध्य भएको जानकारी दिएका छन्। मृत पुडासैनीले भिडियो आफ्नो आत्महत्याको कारण रवि लामिछाने र अन्य दुई जना भएको मोवाइल भिडियोमा उल्लेख गरेको प्रहरीले खुलासा गरेका छन्।

पत्रकार पुडासैनी करिव दुई महिना अगाडि न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने जनतासँग सीधा कुरा कार्यक्रममा रवि लामिछानेसंगै कार्यारत थिए। दुई महिनायता भने पुडासैनी माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए। तर संचारकर्मी रवि लामिछानेले भने घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको र भएको प्रमाणित भएमा हदैसम्मको कारबाहीको माग गर्दै आएका छन्।
प्रकाशन मिति–२०७६ साल साउन ३० गते विहीवार ।