Geeta Adhikari 1काठमाडौ। नेपालको चलचित्र पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति न्यून रहेको छ। महिला कलाकारका भोगाईका कुरा पुरुष पत्रकारलाई भन्दा महिला पत्रकारलाई अभिव्यक्त गर्न सरल हुने धारणा धेरै कलाकारवाट आएतापनि पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको उपस्थिति न्यून बनिदिनाले महिला कलाकारका आवाज सोचेजस्तो बुलन्द हुन नसकिरहेको भनाई रहेको छ।

Geeta Adhikari 2

बर्तमान यस अवस्थामा विगत १२ बर्षदेखि निरन्तर चलचित्र पत्रकारिता गर्दैआएकी पत्रकार गीता अधिकारीको अनुभवमा महिला पत्रकारहरुलाई चलचित्र बिटमा काम गर्न निक्कै नै चुनौति रहेको स्वीकार गर्छिन्। चलचित्र क्षेत्रमा बोलिने भाषा तथा शव्द प्रयोग र प्रस्तुतिले गर्दा कतिपय स्थानमा लाजमर्दो अवस्था पनि हुने भएकोले महिला पत्रकारहरु यस बिटमा काम गर्न त्यति नरुचाउने भनाई पत्रकार अधिकारीको रहेको छ। चलचित्रमा बोलिने भाषा तथा शव्द पहिलाको तुलनामा धेरै सुधार आइसकेको र महिला पत्रकारलाई यस बिटमा काम गर्न पहिला जस्तो कठिन नभएकोले हाल आएर धेरै सजिलो भएको आफूले महशुश गर्दैआएको पत्रकार अधिकारीले भिजन संसारसंगको कुराकानीमा भनेकी छन्।

Geeta Adhikari 4पत्रकारिता आम–जनमानसले सोचेजस्तो सरल तथा सहज नभएको र अत्यन्त गंभीर विधा भएकोले जतिसुकै आदर्शका कुराहरु गरेपनि पुरुषको तुलनामा महिलाहरुलाई पत्रकारितामा सहज अझै हुन नसकेको अधिकारीको गुनासो रहेको छ। आफू सवै कुरावाट ठिक हुँदा–हुँदैपनि अनावश्यक टर्चर, झमेला, गलत दृष्टिकोण लगायतका आम समस्या विगत १२ बर्षभित्र भोगेका तितो–सत्य भएको उनले भनेकी छन्।

Geeta Adhikari 3

चलचित्र आत्मघातमा लिड रोल समेत गरिसकेको बताउने पत्रकार अधिकारीले केही कर र स्वास्थ्य संवन्धी विज्ञापनहरुमा पनि अभिनय गरिसकेकी छन्। अभिनय र मोडलिङ्ग शौख मात्र भएको बताउने उनी आफूलाई व्यावसायिक पत्रकार भन्न रुचाउंछिन्।

पूर्वी नेपालको मोरङ्ग केराबारी–१ मा जन्मेकी पत्रकार अधिकारी चलचित्र पत्रकार संघको केन्द्रिय सदस्य हुन भने काठमाडौवाट प्रकाशित राष्ट्रिय दैनिक कमाण्डर पोष्टमा आवद्ध रहेकी छन्। त्यसको अलावा विहीवार प्रकाशित हुने फिल्मीखवर साप्ताहिक र अनलाइन पत्रिकामा पनि कार्यरत अधिकारीको आफ्नै प्रकाशनको पत्रिका मिलाप मासिक पनि रहेको छ।

१२ बर्षअघि मानचित्र मासिक पत्रिकावाट पत्रकारिता शुरु गरेकी अधिकारीका विभिन्न पत्र–पत्रिकामा राजनीति, महिला हिंसा, लैगिंकता विषयमा स्वतन्त्र रुपमा लेख–रचनाहरु प्रकाशित हुंदैआएको छ। पत्रकारितामा लागेर आफूले पैसा भन्दा बढी आत्म सन्तुष्टि र शान्ति पाएको अनुभव उनले सुनाएकी छन्।

प्रकाशन मिति–२०७३ साल असार १२ गते आइतवार ।