काठमाडौं। नेपालमा परमादेशवाट नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ। मतदानमा २४९ जना सांसद सहभागी भएका थिए। एक जना भने तटस्थ बसेका थिए।

देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन्।राप्रपा विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी भने मतदानमा सहभागी भएन।

संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्‍वासको मत लिएका हुन् ।
प्रकाशन मिति–२०७८ साल साउन ३ गते आइतवार ।