काठमाडौं। पशुपति किराँतेश्वर महादेव मन्दिरमा किराँत धर्म संस्कृति परिषद नेपालको आयोजनामा विशेष हवन यज्ञ कार्यको शुभारम्भ भएको छ। महाशिवरात्रीको अवसरमा आठ दिने हवन यज्ञ कार्यको शुभारम्भ भएको हो।

दैनिक हवन यज्ञ गरिसकेपछि सातौ दिनमा फागुन २६ गते (सकभरा) गाली सराप बगाउने कार्य बागमतीको सूर्यघाटमा हुने जानकारी किराँत कुलका धर्मगुरु नारायण लिंखा देवानले दिएका छन्। देवानका अनुसार, आठौं दिनमा फागुन २७ गते महाशिवरात्रिका दिन समापन हुने छ।

उक्त हवन यज्ञ किराँती बेद मुन्धुम अनुसार मूल पूरोहित नरवहादुर केरुङ, सहायक पुरोहित आइत हाङ लिम्बुले गरिरहेका छन्। शुभारम्भ समारोहमा उक्त आयोजक संस्थाका अध्यक्ष समाजसेवी बीरबहादुर लिम्बुको संयोजन तथा केन्द्रिय सदस्य सुशीला राई, रामकुमार राई, सीता राई, राजन राई, मनोरुपा लिम्बु, दिलकुमारी लगायतका उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७७ साल फागुन २० गते विहीवार ।