काठमाडौं। पश्चिम नेपालको कैलालीमा बिहीबार राती आएको हावाहुरीका कारण दुईजनाको मृत्यु भएको ७५ बढी घाइते छन् । ठूलो मात्रामा भौतिक क्षति भएको छ। टीकापुर र गोदावरी नगरपालिमाएक–एकजनाको मृत्यु भएको हो। टीकापुर–२ मा पर्खाल भत्किएर लाहनु डगौंराको मृृत्यु भएको छ। गोदावरी–८ का वीरवहादुर चौधरीको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो।

पूर्वतिरबाट आइरहेको बा३प ३८३६ नम्बरको टिपरले से१प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढीको ढुंगे बजारमा गुडिरहेको हायसमाथि रुख लडेर च्यापिएको अवस्थामा राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते बाहेक अन्य क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको कान्तिपुर दैनिकले उल्लेख गरेको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीकाअनुसार हावाहुरीकै कारण जिल्लाका विभिन्न स्थानमा ७५ जना बढी घाइते भएका छन्। घाइतेहरुको सेती अञ्चल अस्पताल धनगढी लगायत विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको पनि कान्तिपुरले लेखेको छ। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।

हुरीले धेरैजसो घरहरुमा छाना उडाएको छ। धनगढीको पुरानो एयरपोर्ट नजिकै रहेको मुक्त कमैया शिविरका सबै घरका छाना उडाएको छ। पोलहरु ढलेकाले विद्युत सेवा पूर्णरुपमा अवरुद्ध छ।
जताततै रुखहरु भाँचिएका छन्। कतिपय स्थानमा सडक अवरुद्ध छ। करिब एक घण्टासम्म चलेको हावाहुरीले रातभर स्थानीय बासिन्दाको बिचल्ली भएको थियो। हुरीले छाना उडाएको र मुसलधारे वर्षा पनि भएपछि पीडितहरुको झन् बिजोग भएको थियो।
प्रकाशन मिति–२०७६ साल २४ गते शुक्रवार ।