काठमाडौं। पश्चिम नेपालको बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ। साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो। यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको बताइएको छ। बझाङमा भूकम्पको धक्कापछि स्थानीयहरु अत्तालिएर घरबाट बाहिर निस्किएका थिए।

भूकम्पको केन्द्रविन्दु रहेको बझाङको खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष हिक्मत खत्रीले हालसम्म कुनैपनि किसिमको क्षतिको विवरण नआएको इमेज खवरलाई बताएका छन्। यो विनाशकारी ‘गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर ३ गते मंगलवार ।