Puthanकाठमाडौ। अविरल बर्षाको कारण मंगलवार पश्चिम नेपालको प्यूठान र गोरखामा पहिरोमा पुरिएर एघार जनाको मृत्यु भएको छ। तीन जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। प्यूठानमा आठ र गोरखामा तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो। प्यूठानको रजवार गाविस-३ नेटामा दुर्गाबहादुर मल्लको घर पहिरोले पुरिँदा उनीसहित परिवारका पाँच सदस्यको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्गाबहादुर मल्ल, उनकी ३७ वर्षीया श्रीमती सीता, छोरीहरु १० वर्षीया सुशीला, चार वर्षीया श्रृजना र दुई वर्षीया लेखा मल्ल रहेको छ। प्यूठानको पुँजा गाविस-३ बाग्लीवाङमा हुमबहादुर सुनारको घर भत्किँदा हुमबहादुरसहित उनकी ६० वर्षीया श्रीमती खसी सुनार र ६ वर्षीया छोरी सीमाको मृत्यु भएको छ।

Gorkha

गोर्खाको केरौंजा गाविस-३ मा आएको पहिरोमा पुरिएर ४३ वर्षीया कान्छीमाया गुरुङ, ३० वर्षीया चिनमाया गुरुङ र १५ वर्षीया सञ्जीव घलेको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले बाढी, पहिरो, डुबान जस्ता विपदतका घटनाबाट जनधनको क्षति न्यूनिकरणका उच्च सतर्कमा रहन स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएको छ ।
प्रकाशन मिति–२०७३ साल असार २२ गते बुधवार ।