काठमाडौं । नेपालले आफ्नो पहिलो स्याटेलाइट नेपाली स्याट १ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ। नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो। ‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ।

यसै खुशीयालीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली स्याटेलाइट प्रक्षेपण भएकोमा संलग्न सबैलाई बधार्इ दिएका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ प्रक्षेपण भएको छ, योसँगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचिमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

करिब डेढ करोडको लागतमा बनेको यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ। यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ। घनाकार स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ। यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन्। यसको आयु अधिकतम ३ वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभागले जनाएको छ।

प्रकाशन मिति–२०७६ बैशाख ५ गते विहीवार ।