काठमाडौं। नेपाल सरकारले प्रहरी डीआईजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको आईजीपी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गते बुधवारदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। आईजीपीका लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्याय पनि लाइनमा रहेका थिए। वरीयताक्रममा लम्साल दोस्रोमा र उपाध्याय तेस्रोमा रहेका थिए।

विसं.२०२२ साल असारमा प्यूठानमा जन्मिएका ज्ञवाली वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालका ‘ब्याची’ हुन् भने नयाँ आईजीपी ज्ञवालीको कार्यकाल पाँच महिना मात्र रहने भएको छ। दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश नम्बर–१ को प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्यूरोमा काम गरिसकेका ज्ञवाली विसं.२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।
प्रकाशन मिति–२०७६ साल माघ २८ गते मंगलवार ।