काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानका पाइलटको गल्तीका कारण युएस बंगला एअरलाइन्सको विमान दुर्घटना भएको पुष्टि गरेको छ।

विमान दुर्घटनापछि विमानस्थलले गरेको पत्रकार सम्मेलनमा विमानस्थलका प्रमुख राजकुमार क्षत्रीले सोमबार दिउँसो २ बजेर १८ मिनेटमा सो विमान ‘जिरो टु’ मार्गबाट अवतरण हुनुपर्नेमा विमानका पाइलटले ‘टु जिरो’बाट अवतरण गर्न अनुमति मागेको बताए। अर्थात् दक्षिणतर्फबाट अवतरण गर्नुपर्ने विमानका पाइलटले उत्तरतर्फबाट अवतरण गर्ने भन्दै उत्तरतर्फ लागेपछि एअर ट्राफिक कन्ट्रोलले पाइलटलाई ‘तपाइँलाई केही समस्या छ कि ?’ समेत भनेर सोधेको भन्दै क्षत्रीले पाइलटले कुनै समस्या नभएको बताएको पनि जानकारी दिए।

विमानले उत्तरपूर्व गएर दुई फन्को लगाएको र अवतरण गर्न नसकेपछि पाइलटलाई गलत बाटोमा गइरहेको चेतावनी दिँदा उताबाट कुनै प्रतिक्रिया नै नआएको पनि क्षेत्रीले बताए। त्यसलगत्तै विमान पूर्वपट्टीको बार भत्काउँदै  विमानस्थलबाहिरको खोंचमा खसेको थियो।

पाइलटले गल्ती नै गरेर अवतरण गर्ने कोशिश गरेतापनि काठमाडौकां उत्तरपूर्वमा रहेको साँखु शहरमा झण्डै विमान खस्न लागेको बताइएको छ। घनाबस्ती साँखुवाट जोगाउंदै चावहिलतिर धरमराउंदै उडिरहेको विमानलाई अकल्पिनय तौरवाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालको पूर्वतिरको बार भत्काउंदै खोंचमा अवतरण भएको थियो।

विमानमा सवार ४९ जनाको मृत्यु तथा २२ जनाको सख्त घाइते भएतापनि काठमाडौमा हुनै लागेको गंभीर ठूलो दूर्घटनावाट पाइलटले बचाएको भन्ने कुरा पनि प्रकाशमा आएको छ।

दूर्घटनाको लगतै विमानस्थलमा निरीक्षण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दूर्घटनामा घाइते भएकाहरुको संपूर्ण उपचार खर्च नेपाल सरकारले गरिदिने घोषणा गरिदिए।

दूर्घटनाको उच्चस्तरीय छानविन गर्न ६ सदस्यीय टोलीको गठन गर्न पनि निर्देशन दिएका थिए। निरीक्षणमा पुगेका प्रधानमन्त्री ओली बल्ग्रेती जलेका लाश देखेर अत्यन्त भावुक बनेका थिए।

प्रकाशन मिति–२०७४ साल फागुन २८ गते सोमवार ।