काठमाडौं। पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसीले जनाएको हो । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा उपचाररत थिए। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।

सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गरेका थिए भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए।

सन् १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुई वटा हत्याको अभियोग समेत लागेको थियो । सन् २००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुसर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बनेका थिए । सन् २००७ को अक्टोबर–नोभेम्वरमा मुसर्रफले पुनः राष्ट्रपतिको चुनाव जितेका थिए । तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौती दियो ।

त्यसपछि उनले देशमा संकटकाल लागू गरेका थिए । उनले मुख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरेका थिए । जसले उनको चुनावलाई वैधानिकता दिएको थियो । सन् २००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । मुसर्रफमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ ।

राजद्रोहको मुद्दामा मृत्यु दण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।
प्रकाशन मिति–२०७९ साल माघ २२ गते आइतवार ।