काठमाडौं। पाकिस्तान प्रशासित कश्मिरमा मंगलबार अपरान्ह गएको शक्तिशाली भूकम्प गएको छ। ५ं.८ म्याग्नीच्युडको भूकम्पले पूर्वी पाकिस्तानमा धक्का दिँदा कम्तीमा १९ जनाको ज्यान गएको र तीन सय भन्दा बढी मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहर नजिकै भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ। मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरूमा आंशिक क्षति पुगेको देखिन्छ। क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन।

उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौं मानिसको ज्यान गएको थियो। अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भूकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्। जसको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो।

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ पनि भूकम्पका धक्काहरू महसुस गरिएका छन्।
(बीबीसी समाचार सेवाको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज ७ गते मंगलवार ।