काठमाडौं। यो पुष महिनाको अत्यन्त जाडो याममा पनि हिमाल आरोहणको आकर्षणमा व्यापक बृद्धि पाइएको छ। यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा पिक आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जानेहरुको कुनै कमी देखिएको छैन्।

पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र पिक आरोहणका लागि १० वटा आरोहण दल आएका थिए । सगरमाथा, अमादब्लङ, पुमरी, थापापिक (धम्पुस),धौलागिरीलगायत आरोहणका लागि गएका हुन्।

सगरमाथा गएको एसएसटी विन्टर एलेक्जेन्डर चिकोन एभरेष्ट एक्सिपिडिसन आरोहण दल यसअघि सन् २०१६ मा पनि सगरमाथा आरोहण गर्न आएको थियो । यस वर्ष पनि अष्ट्रेलियालगायत मुलुकबाट तीन वटा आरोहण दल अमादब्लङ हिमाल र धम्पुस पिक आरोहणका लागि गएको विभागले जनाएको छ।

सन् २०१७ को जाडोयाममा रु नौ लाख २६ हजारभन्दा बढी आरोहण रोयल्टी उठेको छ। विभागको पर्वतारोहण शाखाका अनुसार यो वर्ष पनि गत वर्षकै हाराहारीमा आरोही आउने अनुमान गरिएको छ।

विभागको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा ५५ वटा हिमाल र पिक आरोहणका लागि १७३ आरोहण दलका एक हजार ३९८ आरोहीबाट पाँच करोड ३८ लाख १७ हजार २७४ रोयल्टी सङ्कलन भएको छ। सोही वर्षको वसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथा आरोहण गरेका थिए।

वैशाख ३० देखि जेठ ११ गतेसम्म भएको आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी उठेको छ । उक्त अवधिमा सगरमाथासहित २८ हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।

हिमाल आरोहणका लागि वसन्त ऋतु (स्प्रिङ सिजन) उपयुक्त मानिन्छ। यो याममा धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणमा निस्कन्छन्।
प्रकाशन मिति–२०७५ साल पुष १७ गते मंगलवार ।