ललितपुर। यो पुषको मध्य जाडोमा देवताको पनि देवता महादेवलाई समेत जाडो लाग्नु स्वभाविक हो। यो स्वभाविकतामा अस्वभाविक महादेव शनिवार पाटन म्युजियमको भण्डारखाल बगैचामा भेटियो।

महादेव बाघको छालाको कछाड मात्र लाएर त्रिशुल बोक्दै सर्पको मालामा माता पार्वतीसंग मृगस्थली जस्तो भण्डारखाल बगैंचामा विचरणमा थिए। बगैचाको अस्वभाविक जाडोले महादेव र पार्वती पनि यो नेपालको जाडो त साह्रो पो रहेछ। खप्नै गाह्रो भयो भनेर भिजन संसार डटकमलाई प्रतिक्रिया व्यक्त गर्दैथिए।

त्यसरी प्रतिक्रिया व्यक्त गर्ने कलियुगका महादेव रुपेन्द्र श्रेष्ठ र पार्वती रजनी खड्गी हुन्। नेपालभाषा टाइम्स दैनिकव्दारा आयोजित नेपालभाषा साहित्य नखःमा आयोजित ओमःनमोःशिवाय नामक नाटक मन्चन पूर्व भण्डारखाल बगैचामा देखिएका यी महादेव–पार्वतीलाई पुसको मध्य जाडोले छोएपनि कलाकार भएपछि त्यो असह्य चिसोलाई पनि पचाउन बाध्य बनेका थिए।

जाडो तथा गर्मी जुनसुकै कुरा पनि पचाउनु पर्ने कलाकारिताको धर्म अनुरुप दुवैले असह्य चिसो सहेर नाटक मञ्चनको तयारीमा बसेका थिए। रंगमंच पछाडि तयारी अवस्थामा रहेका यी महादेव–पार्वतीसंग बसेर सेल्फी फोटो लिनेहरुको पनि घुइंचो नै लागेको थियो। नाटकका निर्देशक रामकृष्ण खड्गी भने, मेरो महादेव–पार्वतीलाई जाडो भयो भनेर रातो कम्बल ओढ्न दिइरहेका थिए।

महादेवजी रुपेन्द्र श्रेष्ठ भने मेकअप विग्रने पो हो कि भन्ने पीरमा थिए। माता पार्वती पनि असाध्यै जाडो भयो भनेर थर्र–थराउंदै थिए। तर, नाटक मञ्चन हुंदा रंगमंचमा महादेव–पार्वतीले जाडोको बाबजुद पनि बेजोड अभिनय गरेर सारा हेर्ने दर्शकलाई तताउन सफल भएका थिए।

यी दुई महादेव–पार्वतीको अभिनयमा निर्देशक रामकृष्ण खड्गीले मानवको रोलवाट साथ दिएका थिए। नाटकको लेखन नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेश किरण मानन्धरले गरेका हुन्।


प्रकाशन मिति–२०७५ साल पुष १५ गते आइतवार ।