काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले आफूले दाइजोमा पाएको सम्पत्तिबाट बलपूर्वक हटाउन खोजिएको भन्दै सर्वोच्च अदालतको फैसलाविरुद्ध रिट दायर गरेकी छन् । सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०७३ पुस २१ गते भएको निर्णय बदर गर्न माग गर्दै रिट दायर पूर्वराजाकी छोरी प्रेरणाले गरेकी हुन्।

प्रेरणाले आफूलाई घर कम्पाउण्ड खाली गर्न दबाब आइरहेको भन्दै यस रिटको अन्तिम फैसला नभएसम्म घर कम्पाउण्ड खाली गर्न चालिएका सबै कदम रोक्न अन्तरिम आदेश पनि माग गरेकी छन् ।

प्रेरणाका वारेस कानून व्यवसायी गोकुलबहादुर रोकायाले दायर गरेको रिटमा भनिएको छ– ‘संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिनासाथ संविधानको धारा १३३ (१) तथा १३७ बमोजिम संवैधानिक इजलाससमक्ष निर्णयका लागि पठाउनुपर्नेमा संवैधानिक एवं कानूनी प्रावधानको गम्भीर उपेक्षा निर्णय पूर्ण इजलासबाट हुन गएको प्रष्ट छ ।’

प्रेरणाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून न्याय तथा संसदीय मामिला, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय र कलंकी मालपोत कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी छन् ।

प्रेरणाले दाइजोस्वरुप पाएको काठमाडौं महानगरपालिका १३ को १५ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा जाने फैसला सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको थियो।

दाइजो, दान बकस पाएको सम्पत्तिमा महिलाको अधिकार हुने तत्कालीन कानूनी व्यवस्था रहेको भन्दै उक्त सम्पत्ति नेपाल ट्रष्टको कार्यालयको नाममा नजाने दावी गरेकी छन् ।
प्रकाशन मिति–२०७५ साल पुष ६ गते शुक्रवार ।