Gyanendra Shahकाठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिएको टिप्पणी गरेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा शाहले राजनीतिक क्षेत्र प्रतिको भरोसा न्यून हुन पुगेको र त्यसले देशको एकता र सवल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्‍याउने त्रास थपेको भनेका छन्।

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा पूर्वराजाद्धारा जारी शुभकामना सन्देशमा जनताको चाहना वमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको उल्लेख छ। पूर्वराजा शाहले २०६३ को जनआन्दोलनका वेला राजनीतिक दलकाबीचमा भएको सहमति तोडिएको स्मरण गराउँदै प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहबाट भएको उल्लेख गरेका छन्।

हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनुरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको स्मरण गराउँदै शुभकामना सन्देशमा सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकुल व्याकुल बन्न पुगेको र यसबाट देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको भनेका छन्।

राष्ट्र समृद्ध बनाउनमा मुख्य योगदान पुर्‍याउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको जानकारी गराउँदै पूर्व राजा शाहले महाभूकम्प र बाढी पहिरोका कारण घरवास विहीन हुन पुगेका जनतालाई अनूभुत हुने स्तरको सहारा दिने कार्य हुन नसकेको शुभकामना सन्देशमा उल्लेख छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।