काठमाडौं। नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको खुलासा भएको छ। सोमवार विहान १० बजेदेखि ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा कार्कीको हत्या भएको देखिएको खुलासा भएको हो।

मुनाको हत्या घरमा काम गर्न राखिएका २२ वर्षीय विजय चौधरीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ। योजनावद्ध रुपमा घरमा कोही नभएको अवस्थामा हत्या गरेको देखिएको अनुसन्धानवाट देखिएको छ। घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्कासमेत बरामद गरेको छ।

त्यस्तै प्रहरीले घरभित्र नै लिभिङ रुममा विजय चौधरीको नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको थियो। मुनाको हत्या गरिसकेपछि विजयले आत्महत्या गरेको सहजै अनुमान गर्न सकिने प्रहरीको भनाई छ। प्रहरीले कार्कीको घरमा रहेको सिसिटिभि क्यामरावाट यी सवै घटनालाई पत्ता लगाएको हो।

बिहान १० बजेर १० मिनेटमा विजयले मुनाको घाँटीमा डोरी लगाएर लडाएको र त्यसपछि पिर्काले प्रहार गरेर हत्या गरेको सिसिटिभिमा देखिएको छ। हत्याको कारण भने खुल्न सकेको छैन। पूर्वसचिव कार्की भने पूजा गर्न बिहानै पशुपति गएका थिए।

घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको समयमा उक्त घटना भएको देखिएको प्रहरीले जनाएको छ। कार्कीका दुई छोरी भने विदेशमा नै बस्दै आएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशन मिति–२०७६ साल माघ २७ गते सोमवार ।