धरान । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज लक्ष्मीपूजाको दिन दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको अनुमान गरिएको छ।

एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जनाएको छ। विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ।

आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरीको मुख्य चोक क्षेत्रको बजारमा भएको उक्त आगलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरीको बजार जोगिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

बीच शहरमा भएको आगोलाई नियन्त्रणमा लिनका लागि इटहरी धरान विराटनगर इनरुवा तथा यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासीसमेतको सक्रिय सहभागिताकै कारणले आगो अपरान्ह् ३ बजेतिर नियन्त्रणमा लिने कार्य सफलता प्राप्त गरेको थियो।
प्रकाशन मिति–२०७५ साल कात्तिक २१ गते बुधवार ।