काठमाडौं । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज बुधवार पूर्वी नेपालको ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ।

गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो। गृह मन्त्रालयका अनुसार, मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ। मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ। बाँकी शव चिन्न सकिने अवस्थामा छैनन्।

शव ल्याउनका लागि नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर उडिसकेको गृह मन्त्रालयले जनाएको छ। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो ।
प्रकाशन मिति–२०७५ साल फागुन १५ गते बुधवार ।