काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा–२१ स्थित इनाखा गणेश मन्दिर परिसरको सम्पदा निर्माण सम्पन्न भएको छ। शुक्रवार पूर्वमन्त्री एवं बागमती प्रदेशका लोकप्रिय तथा जनप्रिय सांसद डा.अजय क्रान्ति शाक्यले ताम्रपत्र अनावरण गरी उद्घाटन भएपछि इनाखा गणेश मन्दिर परिसरको सम्पदा निर्माण सम्पन्न भएको घोषणा भएको हो।

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ (१) बाट लोकप्रिय मतवाट निर्वाचित सांसद डा. शाक्यले बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मा उक्त कार्यक्रम अन्तर्गत विनियोजित बजेट मध्ये ३४ लाख रकमबाट सो सम्पदा पुननिर्माण सम्पन्न भएको जनाइएको छ।

उद्घाटनपछि सम्वोधन गर्दै सांसद शाक्यले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय रुपमा भौतिक पूर्वाधार, मूर्त–अमूर्त सम्पदाको निर्माण–पुननिर्माण, प्रर्वद्धन र संर्वद्धन जस्ता कार्यमा विशेष जोड दिएको खुलासा गरेका छन्।

‘सांसद पद अस्थायी हो,’ पूर्व मन्त्री डा.शाक्यले सम्वोधनका क्रममा भने, ‘त्यसैले सांसद रहँदा र नरहँदा पनि यहाँको विकास र समृद्धिका लागि निरन्तर सक्दो योगदान गर्ने छु। म तपाईँहरुका बिचमा यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

डा.शाक्यले सम्वोधनकै सिलसिलामा आफ्नो क्षेत्रका ९० प्रतिशत सम्पदा पुननिर्माणको काम सम्पन्न भएको बताएका छन्।

काठमाडौँ महानगरपालिका वडा–२१ वडाका निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको सो कार्यक्रम इनाखा युवा क्लबका अध्यक्ष बबी रञ्जितको सभापतित्वमा सम्पन्न भएको थियो। डा.शाक्यले सो सम्पदा निर्माणमा सहयोगी भूमिका खेल्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शुक्रवार ।